×

झारखण्डकी पूर्व गभर्नर र आदिवासी नेता द्रौपदी मुर्मुलाई भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले राष्ट्रपतिको उम्मेदवारको बनाएको छ । 

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले मंगलबार मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गरेका हुन् ।

जेपी नड्डाले पहिलो पटक आदिवासी महिला उम्मेदवारलाई प्राथमिकता दिएको बताए । यदि द्रौपदी मुर्मुले राष्ट्रपति चुनाव जितिन् भने उनी देशको पहिलो आदिवासी महिला राष्ट्रपति हुनेछिन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि एनडीए गठबन्धनकी द्रौपदी मुर्मुलाई राष्ट्रपति पदका लागि उम्मेदवार बनाएको भन्दै ट्वीट गरेर आफ्नो प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, "श्रीमती द्रौपदी मुर्मु जीले आफ्नो जीवन समाजको सेवा र गरिब, दलित र सीमान्तकृत मानिसहरूलाई सशक्तीकरण गर्न समर्पित गर्नुभएको छ। उनीसँग प्रशस्त प्रशासनिक अनुभव छ ।"

उनले विपक्षी उम्मेदवार यशवन्त सिन्हाको सामना गर्नेछिन् । द्रौपदी मुर्मु ओडिशाको मयुरभञ्ज जिल्लाकी हुन् र आदिवासी समुदायबाट आएकी हुन् । उनले एक शिक्षिकाको रूपमा काम सुरु गरेकी थिइन् । र त्यसपछि ओडिशाको राजनीतिमा प्रवेश गरिन् ।  

सन् १९९७ मा काउन्सिलरको चुनाव जितेर उनी ओडिशाको रैरङपुरको उपाध्यक्ष भइन् । सोही वर्ष उनी भाजपाको एसटी मोर्चाको प्रदेश उपाध्यक्ष चुनिए । उनी मयुरभञ्जको रायरंगपुरबाट बीजेपीको टिकटमा दुई पटक विधायक (२०००-२००९) भइन् । 

द्रौपदी मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्डको गभर्नर पनि रहेकी थिइन् ।

Back to top