×

वीरगञ्ज ६ असार । मानवसेवा आश्रम वीरगञ्जले एक जना भारतीय महिलाको सकुशल रुपमा पारिवारीक पुर्नमिलन गराएको छ । 

विगत ६ महिनादेखि हराएकी भारत बिहार गोपालगञ्ज जिल्ला बामो गाउँ निवासी ४५ वर्षीय लालती देवीको मानव सेवा आश्रम वीरगञ्जले पारिवारीक पुर्नमिलन गराएको हो । 

२०७८ चैत ८ गते स्थानीयले खबर गरेपछि बाराको कोहल्वी नगरपालिका वडा नम्बर ४ सपहीबाट उद्धार गरेर मानवसेवा आश्रममा ल्याइएको आश्रम मधेश प्रदेशका संयोजक देवेश गुप्ताले जानकारी दिए । 

उनका अनुसार लालती देवीलाई कमजोर मानसिक अवस्थामा उद्धार गरेर उपचारका साथै स्याहार सुसार गरिएको हो । 

मानव सेवा आश्रमको प्रेम र डा. भरत गोइतको उपचारपछि उनको मानसिक अवस्था ठीक भएर आफ्नो ठेगाना बताएपछि त्याहाँका प्रहरीलाई खबर गरेको गुप्ताले बताए । 

देवीले गोपालगञ्ज घर बताएपछि गोपालगञ्ज प्रहरीको सहयोगमा उनका परिवारलाई खबर गरेर सकुशल रुपमा पुर्नमिलन गराउन सफल भएकोमा मानव सेवा आश्रम वीरगञ्जकी प्रमुख सानुमाया गुरुङ् खुशी छिन् । 

देवेश गुप्ताले उनका श्रीमान सन्तलाल शर्मा र छोरा अभिशेक शर्माको जिम्मा लगाएर मानवसेवा आश्रम वीरगञ्जको खादा ओढाउँदै बिदाई गरेका छन् । 

६ महिनादेखि खोज्दा खोज्दै फर्किने आश मारिसकेका श्रीमान सन्तलाल श्रीमतीलाई पुनः देख्न पाउँदा भक्कानिएका थिए । छोरा अभिशेकले पनि आमा फर्किने आश मारीसकेको बताउँछन् । 

मानवसेवा आश्रम वीरगञ्जले हालसम्म ५५ जनाको पारिवारीक पुर्नमिलन गराएको छ । ५ जना बच्चासहित हाल आश्रममा ५० जना आश्रित रहेका छन् ।

Back to top