×

वीरगञ्ज, ६ अषाढ ।  चलचित्र पत्रकार संघ नेपालको २३ औं वार्षिक उत्सव एवम् सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको कार्यक्रम जेठ ७ गते स्थापना दिवसको अवसरमा गर्ने भनिएपनि निर्वाचनका कारा पछाडी धकेलिएको हो । यसअघि वितरण हुन नसकेको तीन वर्षको सम्मान तथा पुरस्कार एकै पटक सोही समारोहमा वितरण गरिएको हो । 

शनिबार राजधानीमा एक कार्यक्रमका बीच नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा सम्पन्न समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले समाज परिवर्तनका लागि चलचित्रको भूमिका महत्वपूर्ण हुने बताए । नेपालजस्तो विविधतामुलक देशमा चलचित्र क्षेत्रको भविष्य उज्जवल भएको बताउँदै मन्त्री कार्कीले चलचित्रकर्मी एवम् चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धि र बिकासका लागि सरकार सदैव साथमा रहेको बताए । 

‘चलचित्र पत्रकारिताको आधार, प्रेस स्वतन्त्रतासहितको संगठीत मर्यादित र व्यावसायिक पत्रकार’ भन्ने नारालाई यथार्थमा रुपान्तरण गर्नुपर्नेमा मन्त्री कार्कीको जोड थियो । प्रकृतिले बरदानस्वरुप दिएका गन्तव्यको पहिचान गरेर नेपाललाई छायांकनको उत्कृष्ट गन्तव्यको रुपमा बिकास गर्नुपर्ने उनको भनाई छ । 

कार्यक्रममा १६ जना चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७७’ बाट संघका पूर्वअध्यक्ष शान्तिप्रिय र पत्रकार राजन घिमिरे, ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७’ बाट दिवाकर मैनाली र आर. डि. शृंखला (राजन दाहाल) पुरस्कृत भएको संघका उपाध्यक्ष जीवन पराजुलीले जानकारी दिए ।

उपाध्यक्ष पराजुलीका अनुसार ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७८’बाट सुव्रतराज आचार्य र सन्दीप सापकोटा, ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८’बाट कुमार आचार्य र गीता अधिकारी,‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८’ बाट मनोज न्यौपाने र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८’ बाट पोखराका रेम रसाइली पुरस्कृत भएका छन् ।

त्यस्तै, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७९’ बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी, ‘चलचित्र पत्रकारिता पुरस्कार २०७९’ बाट नेमिष गौतम र विष्णु प्रसाद सुवेदी, ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९’बाट उद्दव रसाइली र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९’ बाट मकवानपुरका श्रीराम अर्जुन पुरस्कृत भएको संघका सचिव रघुनाथ सापकोटाले जानकारी दिए ।

May be an image of 13 people and people standing

संघका कोषाध्यक्ष प्रदीप कार्कीका अनुसार चलचित्र पत्रकारिता पुरस्कार ५१ हजार राशी र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २५ हजार राशी सहित प्रदान गरिएको थियो । 

कार्यक्रममा अभिनेता राजेश हमाल, भुवन केसी, सरोज खनाल, कृष्ण मल्ल, अभिनेत्री दीपाश्री निरौला, निर्माता मनिराम पोखरेल, निर्देशक सुरेन्द्र पौडेल, निर्माता पुनम गौतम, शर्मिला पाण्डे, कलाकार निर्मल शर्मा, ओएसआर डिजिटलका ओम प्रकाश अग्रवाल, हाइलाइट्स नेपालका जनक तामाङ, निर्माता सविन ज्ञवाली, महेन्द्र अधिकारी, चलचित्र विकास बोर्डका सदस्य अर्जुन कुमार, नेपाल चलचित्र संघका पूर्व अध्यक्ष प्रदीप कुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, निर्देशक शोभित बस्नेत, केन्द्रीय चलचित्र जाँचपास समितिका सदस्य सन्तोष कुमार थापा लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ नेपालकी उपाध्यक्ष दिपज्योती थापाले गरेकी थिइन् । 
May be an image of 15 people, people standing, balloon and indoor

Back to top