×

बारा, २९ जेठ ।  बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका २४ वटा वडा मध्येकै दुर्गम चकरी गाँउमा सडक पहुँच विस्तार भएको छ । उपमहानगरको वडा नम्बर २२ स्थित चकरी गाँउमा मधेश प्रदेश सभा सदस्यहरु सुन्दर वि.क र सिता गुरुङ्गको पहलमा करिव एक किलोमिटर सडक ढलान भएको हो । 

चकरी गाँउकै २ वटा छुट्टाछुट्ै टोलमा २५ लाख र ५० लाख गरी ७५ लाखको २ वटा योजनामा करिव एक किलोमिटर सडक ढलान गरिएको हो । यसअघि निर्वाचन क्षेत्र नम्बर ४ वाट मधु शाही, फर्रमुल्ला मन्सुर, पुरुषोत्तम पौडेल लगायतलाई प्रतिनिधि सभामा जिताउदाँ पनि गाँउमा कुनै विकास नभएको स्थानियहरुले गुनासो गरेका छन् ।

‘हामीले प्रत्येक पटक भोट हालेर यहाँवाट जिताएर पठाएका माननियहरु मन्त्रीसम्म हुनुभयो तर जितेर गएपछि हाम्रो गाँउलाई फर्केर हेर्नुभएन गाँउमा कुनै विकासको काम  भएन’ स्थानिय महिलाले भनिन् । प्रदेश सरकारको सशर्त र मधेश प्रदेश सदस्यहरुको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत बजेटबाट सो बाटो ढलान गरिएको हो । 

सडक ढलान शिलन्यास गर्दै मधेश प्रदेश सभा सदस्य सुन्दर बि.कले विकास जति शहरतर्फ मात्रै भएको भन्दै चकरी गाँउको विकासमा कुनै दलले ध्यान नदिएकोले आफुले विकास गर्न चाहेको बताए । ‘चकरी गाँउ सधै ओझेलमा पर्न हुदैन, यो भनेको बजारदेखि टाढा जंगलसँग जोडिएको ठाँउ हो, त्यसकारण पहिला विकास भनेको गाँउवाट शुरु गर्नुपदर्छ, राहत भनेको निमुखावाट शुरु गर्नुपर्छ भनेर हामीले शुरु गरेका हौ’ मधेशप्रदेश सभा सदस्य बि.कले भने ‘हामीसँग भएको थोरै बजेट मध्येको चकरीमा यो धेरै बजटे हो’ ।

मधेश प्रदेश सभा सदस्य विकले चकरीमा पुल बनाउन डिपिआर तयार भईसकेकोले पैसा हाल्ने प्रयास भईरहेको बताएका छन् । ‘हाम्रो बजेटले पुल बनाउन सक्दैन हामीले माग्ने हो सुन्दिएको भए पुल शुरु भईहाल्थ्यो, यसपटक पनि मागेका छौ’ 

जीतपुर सिमरा २२ स्थित चकरी गाँउ पर्यटनको दृष्टिकोणले अत्यन्तै सुन्दर ठाँउ हो । डिभिजन वन कार्यालय बाराले सो ठाँउमा पर्यटकहरुका लागि होमस्टेको पनि व्यवस्था गरेको छ । तर प्रचार प्रसारको अभावले गत वर्षदेखि नै शुरु भएका होमस्टेहरु सञ्चालन हुन भने सकेका छैनन् । 
 

Back to top