×

वीरगञ्ज, २८ जेठ ।  क्रियाशिल युवा पत्रकार मञ्च पर्साको पहिलो साधारण सभाबाट प्रणय कुमार साह पुनः अध्यक्षमा सर्वसंवत चयन भएका छन् । नेपाल पत्रकार महासंघको सभाहलमा शनिवार सम्पन्न प्रथम साधारण सभाबाट नेपाल पत्रकार महासंघको प्रदेश सभा सदस्य समेत रहेका साहलाई पुनः नेतृत्व गर्ने जिम्मेवारी दिइएको हो । 

साहको अध्यक्षतामा गठीत नयाँ कार्यसमीतिको उपाध्यक्षमा आनन्द पटेल, महासचिवमा विरेन्द्र साह, सचिवमा अरबिन्द पटेल, कोषाध्यक्षमा उपेन्द्र बरै पुनः दोहोरिएका छन् । सदस्यहरुमा आदित्य शर्मा, प्रिया कुमारी थारु, ओम प्रकाश सर्राफ, निलम चौधरी, सुनिल ओझा र कन्हैयालाल वर्णवाल रहेका छन् ।  

मञ्चको प्रथम साधारण सभालाई सम्बोधन गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रशिक्षकहरुद्वारा तालिम एवम् प्रशिक्षणको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।  समाजको बिकासका लागि पत्रकारको महत्वपूर्ण भूमिका हुने बताउँदै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यसमेत रहेका डा. गुप्ताले क्रियाशिल युवा पत्रकार मञ्चले समाज परिवर्तनका लागि कलम चलाउने विश्वास व्यक्त गरेका छन् ।

साथै निजी क्षेत्रले पनि पत्रकार एवम् सञ्चारकर्मीसँगै हातेमालो गरेर समाजलाई बिकास गर्ने र नागरिकलाई सचेत बनाउने अभियानमा हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन् । बिकास र परिवर्तनका लागि सबैको साझा पहल हुनुपर्ने आवश्यक्ता डा. गुप्ताले औँल्याएका छन् । 

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले पत्रकारीता पेशाको प्रवद्र्धनका लागि युवाहरु सक्रिय हुनुपर्ने बताए । जोश र जाँगरसहितका युवाहरुको पत्रकारिता क्षेत्रमा टड्कारो परीरहेको अवस्थामा युवाहरु नै क्रियाशिल भएकोमा उनले सह्राना गर्दै समाजका विकृति विसंगतीको विरुद्धमा आवाज उठाउन आग्रह गरेका छन् । सिंगो पत्रकारीता क्षेत्रलाई नयाँ दीशा दिनका लागि क्रियाशिल युवा पत्रकार मञ्च खरो रुपमा उत्रिने महासचिव बञ्जराको विश्वास छ । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, नागरिक समाजका अगुवा प्राध्यापक डा. दीपक शाक्य, जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख प्रशासकिय अधिकृत विनय श्रीवास्तव, मञ्चका कानुनी सल्लाहकार अधिवक्ता हरिहर प्रसाद साह, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल, राष्ट्रिय सरोकार मञ्च नेपालका नारायणी संयोजक नन्दकिशोर गोयल  लगायतले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । 

मञ्चका उपाध्यक्ष आनन्द पटेलले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण  महासचिव विरेन्द्र प्रसाद साहले गरेका थिए । 


 

Back to top