×

वीरगञ्ज, २५ जेठ । सत्य र तथ्यबिनाको मनगढन्ते समाचारले आफ्नो चरित्र हत्या गर्न खोजीएको पर्साको पटेर्वासुगौली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवले दुखेसो पोखेका छन् ।

यात्राडेलीसँगको कुराकानीमा प्रमुख प्रशासकिय अधिकृत यादवले आफुले नगरेको कामलाई नै लिएर हचुवाको भरमा समाचार लेखी केही अनलाईन र पत्रिकाले आफ्नो चरित्र हत्या गरेको प्रतिक्रिया दिएका छन् ।

करोडौको भ्रष्टाचार गरेको भन्ने आरोपलाई प्रमाणसहित पुष्ठि गर्न चुनौती दिँदै उनले यात्रा डेलीसँग भने, “एकजना पत्रिकाका सम्पादकले मेरो बारेमा मनगढन्ते समाचार लेखिदिनुभएछ । उहाँसँग मेरो चिनजान पनि राम्रो थियो । तर पनि किन लेख्नुभयो भन्ने थाहा छैन । समाचार लेख्दा मसँग एकपटक सोधेको भए हुन्थ्यो ।” 

वीरगञ्जमा दर्जनौ घडेरी खरिद गरेको आरोप निराधार रहेको बताउँदै यादवले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् ।  उनले थपे, “चुनावको समयमा करोडौ भ्रष्टाचार गरिएको भनिएको छ, यो सरासर गलत हो । त्यो समयमा तलब बाहेक करिब १० लाख मात्रै भुक्तानी भएको छ भने कसरी करोडौँ भ्रष्टाचार हुन्छ ?” 

अधिकृत यादवका अनुसार सो समयमा भएको भुक्तानी पनि सबै पारदर्शी छ । आफ्नो चरित्र हत्या गर्ने पत्रिकारविरुद्ध आफुले प्रेस काउन्सिलमा उजुरी समेत दिएको यादवले बताए । पत्रकारिता जस्तो मर्यादिन पेशालाई तथ्य र प्रमाण बिनाको समाचारले अमर्यादित नबनाउन आग्रह गर्दै गल्ती गरेको भए तथ्य र प्रमाणसहित लेख्न पनि उनले अनुरोध गरेका छन् । 

यता पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले पनि अधिकृत यादवले करोडौ भ्रष्टाचार गरेको समाचार विश्वसनीय नभएको जिकिर गरीन् । उनले भनिन्, “मेरो त यो दोस्रो कार्यकाल हो । मैले उहाँको स्वभावलाई पनि चिनेकी छु, चुनावको समयमा करिब १० लाखको हाराहारीमा भुक्तानी भएको छ भने करोडौ भ्रष्टाचार गरेको कुरा निराधार हो ।”
 

Back to top