×

वीरगञ्ज, २४ जेठ ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ पिपरास्थित गुरुकुल एकेडमीमा शिक्षकबाट एक विद्यार्थी निर्घात रुपले कुटिएका छन् । 

शिक्षक राजबाबु कुमारले कक्षा ७ मा अध्ययनरत १५ वर्षीय रिजु राज सिंहमाथि निर्घात कुटपिट गरेका हुन् ।

शिक्षक राजाबाबुले कक्षा कोठामा हल्ला गरेको निहुमा शुक्रबार पिडित बालक रिजुराजमाथि कुटपिट गरेको उनकी आमा रिमा देवी सिंहले बताइन । 

रिमा देवीका अनुसार शिक्षक राजाबाबुले स्टिलको स्केलले टाउको र पिठ्युमा र गालामा रिजुराजलाई थुप्रै पटक कुटपिट गरेका छन् । कुटाइबाट पिडित बालकको पिठ्युमा नीलडाम बसेका छन् भने टाउकोमा चोट लागेको कारण बालक गहिरो सद्मामा पुगेको छ।

कुटपिट गर्ने शिक्षकलाई विद्यालयबाट बर्खास्त गर्दै कानुनि कारवाही गर्नुपर्ने बताउँदै पीडित बालकका अभिभावक तथा आफन्त प्रहरीमा उजुरी समेत दिएका छन् ।

तर, विद्यालय प्रशासनले घटना लुकाउन हर सम्भव प्रयास गरिरहेको छ । विद्यालयका प्रध्यानाध्यापक रामबाबु प्रसाद साहले विद्यार्थीमाथि कुटपिट नभएको बताए । यात्राडेलीसँगको टेलिफोन संवादमा साहले विद्यार्थी रिजुराज माथि कुटपिट नभएको र उनका अभिभावकले अफवाह मात्र फैलाएको प्रतिक्रिया दिए ।

Back to top