×

वीरगञ्ज, १६ जेठ ।  मधेश प्रदेशका विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै बटसावित्री पर्व मनाएका छन् । बर–पिपलको रुखमुनि पूजाआजा गर्दै मनाइने बटसावित्री(बरसाइत) पर्वले श्रीमानको आयु बढ्ने विश्वास रही आएको छ । 

जेष्ठ शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्षजस्तै यस वर्ष पनि बरको रुखमुनि पूजाका लागि बिहानैदेखि विवाहित महिलाको भीड लागेको थियो । यस पर्वमा महिलाहरूले नयाँ साड़ी, लहठी पहिरिएर सम्पूर्ण श्रृंगारमा बरको रुखमुनि पूजा गर्ने चलन छ । यस पर्वलाई नारित्व रक्षा, सन्तान प्राप्तिको रूपमा लिइने गरिन्छ ।

यस पर्वमा बरको वृक्ष महत्वपूर्ण हुन्छ । बरको वृक्षले वर्षौसम्म सर्वसाधारणलाई शितलताको छहारी दिने भएकाले पतिको दीर्घायूको लागि नारीहरु बरको पूजापाठ गर्छन् । बरको वृक्षमुनि पतिको दीर्घायूका लागि पूजा गर्नु यस पर्वको महत्वपूर्ण पक्ष हो । ब्रतालु महिलाहरु पूजा गरी कथा श्रवण गरी बरको वृक्षमा सूतीको धागो बाँध्ने गर्छन् । 

ब्रतालु महिलाहरु बिहानै नुहाई श्रृगारिएर नजिकको बर (बट) को वृक्षमुनि बसेर पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल, काँक्रो, केरा, स्याउ, अंगुर, आँप, लिची र नरिवल प्रसादको रुपमा बरको जरामा चढाएर सिँदुरले रगाउँछन् । प्रसाद चढाइसकेपछि ब्रतालुले बरको वृक्षमा सात फेरो पहेलो र रातो धागोले बेर्छन् । 

सुरुमा ब्राह्मण, क्षेत्री, बैश्य र कायस्थले मात्र मनाउने बरसाइत पर्व अहिले प्रायःसबै समुदायमा व्यापक बनिसकेको छ ।
 

Back to top