×

वीरगञ्ज, ३ जेठ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा जगत प्रसाद साह कानु दोहोरिएका छन् ।

मंगलबार अवेर राती सम्पन्न वडा नम्बर ४ को मतगणनाको अन्तिम परिणाम आउँदा नेपाली कांग्रेसका उम्मेदवार कानु वडा अध्यक्षकमा दोहिरिएका हुन् । वडाको अन्य पदमा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् ।

आफ्नो निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका सुदिप कुमार तामाङ्ग लामालाई ८ सय ४८ मतको फराकिलो अन्तरले पराजित गर्दै कानु दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएको वीरगञ्जका लागि प्रमुख निर्वाचन अधिकृत  धर्मराज पौडेलले जानकारी दिए ।

कानुले १ हजार ७७ मत प्राप्त गरेका छन् भने लामा २ सय २९ मत प्राप्त गर्दै दोस्रो भएका छन् । नेकपा एमालेका उम्मेदवार सुमन श्रेष्ठ २ सय ६ मत प्राप्त गर्दै तेस्रो भएका छन् ।

कानु निर्वाचित भएसँगै वीरगञ्जमा नेपाली कांग्रेसले दोस्रो जित हात पारेको छ । यसअघि वडा नम्बर २ को वडा अध्यक्षमा कांग्रेसका महम्मद रेयाज मियाँ तेली आफ्नो प्यानलसहित विजयी भएका छन् ।

अघिल्लो निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कानु ६ सय ३४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

शनिबार दिउँसोदेखि सुरु भएको वीरगञ्ज महानगरपालिकाको मतगणनामा मंगलबार रातीसम्म ६ वटा वडाको अन्तिम मतपरिणाम आइसकेको छ । जसमध्ये ३ वटामा जसपा, २ वटा कांग्रेस र एउटामा नेकपा एमालेका उम्मेद्वारीले विजयी हासिल गरेको मुख्य निर्वाचन अधिकृत पौडेलले जनाएका छन् ।

हाल वीरगञ्जको वडा नम्बर ३, ५, ६, २८ र २९ को मतगणना चलिरहेको पौडेलले बताए ।

Back to top