वीरगञ्ज, ३ जेठ । वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंहले मतान्तरलाई अँझै फराकिलो बनाएका छन् । मंगलवार राति ८ बजेर २५ मिनेटसम्मको तथ्यांकअनुसार पाँच दलीय गठबन्धनका साझा उम्मेदवार सिंह नेकपा एमालेका बिजय कुमार सरावगीभन्दा ५ हजार ४ सय ८२ मतले अगाडी छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १, २, ३, ४, ५, २९, ३०, ३१ र ३२ गरी ९ वटा वडाको १८ हजार ४ सय ९ मत गणना गर्दासम्म सिंहले ९ हजार ७ सय ६८ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका सरावगीले ४ हजार २ सय ८६ मत पाएका छन् । ९ वटा वडाको गणना हुँदा सम्म पनि सरावगी सिंहभन्दा धेरै पछि छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गिरीश गिरीले ३ सय ४१ मत पाएका छन् ।
मेयरका लागि हालसम्म गणना भएको मतमध्ये ४ हजार ८ सय ८७ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।