×

वीरगञ्ज, ३ जेठ ।  वीरगञ्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट  मेयरका साझा उम्मेदवार राजेशमान सिंहले मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन् । जसपाका सिंह नेकपा एमालेका उम्मेदवार निवर्तमान मेयर बिजय कुमार सरावगीभन्दा ४ हजार ६ सय ५९ मतले अगाडी छन् । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १, २, ३, ४, ३०, ३१ र ३२ गरी ७ वटा वडाको १७ हजार २ सय ३४ मत गणना गर्दा सिंहले ८ हजार ४ सय ७५ पाएका छन् । एमालेका सरावगीले ३ हजार ८ सय १६ मत प्राप्त गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गिरीश गिरीलाई २ सय ८१ मत परेको वीरगञ्ज महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । 

त्यस्तै उपप्रमुखमा ५ हजार ७ सय १९ मतका साथ गठबन्धनबाटै नेपाली कांग्रेसका इम्तियाज आलमको अग्रता पनि कायमै छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झा ९ सय ३ मतका साथ दोस्रो स्थानमा छन् भने स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ६ सय २९ मत ल्याएकी छिन् ।

राप्रपाकी बिना जैसवाल कुर्मीले ४ सय २७ मत ल्याएकी छिन् । 

सहायक निर्वाचन अधिकृत जयराम काफ्लेका अनुसार मेयरमा १२ हजार ६ सय ९९ मत सदर हुँदा ४ हजार ५ सय ३५ मत बदर भएको छ । उपप्रमुखमा ७ हजार ८ सय ५३ मत सदर हुँदा १ हजार ५ सय २८ मतले बढी ९ हजार ३ सय ८१ मत बदर भएको छ ।  
 

Back to top