×

वीरगञ्ज, ३ जेठ ।  वीरगञ्जका उद्योगी र व्यापारीहरूको संस्था वीरगञ्ज उद्योग वाणिज्य संघ र स्थानीय सरकारले ढुवानीलाई व्यवस्थित गर्न ट्रान्सपोर्ट नगरको कुरा उठाउँदै आएका छन् । यद्यपि अहिलेसम्म यसको व्यवस्थापन हुन सकेको छैन । ढुवानी कार्य मुख्य शहरबीचमा रहेका ट्रान्सपोर्ट कम्पनीका कार्यालयहरूबाटै हुने गरेको छ ।

वीरगञ्जको मुख्य बजार आदर्शनगरमा यस्ता कम्पनीका कार्यालय बढी छन् । ती कम्पनीले आआफ्नो कार्यालयअगाडि सडकमै ट्रक रोकेर मालसामान लोडअनलोड गर्दै आएका छन् ।

आदर्शनगर व्यापारमात्र नभएर आवासीय क्षेत्रसमेत भएकाले शहरको बीचमा सञ्चालित ढुवानी व्यवसायबाट शहरको आवागमन असहज हुँदै आएको छ । वीरगञ्जका व्यवसायीहरूले मुख्य नाकाबाट भित्रिने मालसामानको ढुवानी र व्यवसाय सञ्चालनका लागि शहरको सट्टा बेग्लै स्थानमा ट्रान्सपोर्ट नगरको माग गर्दै आएका छन् ।

अहिले शहरी क्षेत्रमा दिउँसो ढुवानीका ठूला साधन सञ्चालनमा रोक लगाइएको छ, जसकारण व्यवसायीले रातिको समयमा मालसामान लोडअनलोड गर्दछन् । भारतबाट भित्रिएका खुद्रा मालसामान वीरगञ्जका विभिन्न टान्सपोर्टबाट देशका अन्य शहरसम्म पुर्‍याउने गरिएको छ ।  

वीरगञ्ज मुख्य नाका हुनुका कारण यहाँबाट पारवहन पनि बढी हुने भएकाले छुट्टै ट्रान्सपोर्ट नगरको खाँचो देखिएको नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशको यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानी बताउँछन् । विगतमा वीरगञ्ज महानगरको नगरपरिषद्ले आदर्शनगर क्षेत्रबाट ट्रान्सपोर्ट व्यवसाय हटाउने प्रस्तावसमेत पारित गरेको थियो । अन्य वैकल्पिक ठाउँको अभावमा यो प्रयासले पूर्णता पाउन सकेन ।

स्थानीय युवा व्यवसायीहरूले बजार क्षेत्रबाट भइरहेको ढुवानी र सरोकारका कामलाई व्यवस्थित बनाउने अभियान चलाएका थिए । ट्रान्सपोर्ट नगर भएमात्रै यस्तो ढुवानी व्यवस्थित हुने बुझाइ संयोजक टेमानीको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघले १ दशकअघि नै ल्याएको ग्रेटर वीरगञ्जको अवधारणामा समेत ट्रान्सपोर्ट नगरलाई मुख्य प्राथमिकतामा राखेको थियो । अहिले वीरगञ्जको सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी रहेको क्षेत्रमा जग्गा खोजेर ट्रान्सपोर्ट नगर बनाउनुपर्ने सुझाव व्यवसायीहरूको छ ।  आर्थिक अभियानबाट साभार

Back to top