×

वीरगञ्ज, ३ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका अवसरमा सोमबार भारतको शैक्षिक एवम् सांस्कृतिक प्रतिष्ठानले नेपालका तीनवटा विश्वविद्यालयसँग ५ ओटा समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

भारतीय शैक्षिक एवम् सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग एक–एकओटा तथा काठमाडौं विश्वविद्यालयसँग तीनओटा समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसीसीआर), त्रिभुवन विश्वविद्यालय नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) र आइसीसीआर, काठमाडौं विश्वविद्यालय र आइसीसीआर, सोही विश्वविद्यालय र चेन्नईस्थित भारतीय प्रविधि प्रतिष्ठानसँग अन्य दुईओटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रहरुमा भारतीय पक्षबाट विदेश सचिव विनयमोहन क्वात्राले र नेपालको तर्फबाट लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रा डा हृदयरत्न ब्रजाचार्य, काठमाडौं विश्वविद्यालयका उपकूलपति प्रा भोला थापा र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित सहमतिपत्रमा त्रिभुवन विश्वविद्यालय नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले अलगअलग हस्ताक्षर गरेका छन् ।

यसैबीच, राष्ट्रिय समाचार समितिले प्रेषित गरेको समाचारमा दुई देशका प्रधानमन्त्रीबीच सोमवार मध्याह्न भएको द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित भएको उल्लेख छ । दुई देशका प्रतिनिधिमण्डलबीच आपसी हित र चासोका समग्र पक्ष, व्यापार, पर्यटन, लगानी, जनस्तरको सम्पर्क एवं सम्बन्ध अभिवृद्धिबारे पनि छलफल भएको छ ।

छलफलमा नेपालले शिक्षा तथा स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणका निम्ति विकास सहायता, व्यापार सहजीकरण, पारस्परिक हित, सहकार्य र साझेदारी प्रवद्र्धनलाई प्रमुख रुपमा उठाएको थियो । गत चैतमा भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र त्यस क्रममा भएका सहमति, तिनको समीक्षा एवं शीघ्र कार्यान्वयनका निम्ति अवलम्बन गर्नुपर्ने उपायबारे पनि विचार आदानप्रदान भएको थियो ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, नेपाल सरकारका मुख्यसचिव, परराष्ट्र सचिव, नेपालका लागि भारतीय राजदूत शंकर शर्मालगायत थिए भने प्रधानमन्त्री मोदी नेतृत्वको प्रतिनिधिमण्डलमा भारतीय विदेश सचिव, विदेश मन्त्रालयका सहसचिवहरू र काठमाडौंस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत नाम्ग्या खम्पा सहभागी थिए । रासस

Back to top