×

वीरगञ्ज, २ जेठ ।  वीरगञ्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह र एमालेका बिजय कुमार सरावगीबिचको मतान्तर झनझन् फराकिलो बन्दै गएको छ । 

सोमवार साँझ सवा ६ बजेसम्म वीरगञ्ज महानगरपालिकाका ७ वटा वडाको मतगणना गर्दासम्म जनता समाजवादी पार्टी (जसपा) का सिंह सरावगीभन्दा २ हजार ८ सय २७ मतको फराकिलो अन्तरले अगाडी छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १, २, ३, ४, ३०, ३१ र ३२ का १० हजार ४ सय ८१ मत गणना गर्दा सिंहले ५ हजार १ सय ३३ मत आएको छ भने सरावगीले २ हजार ३ सय ६ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गिरीश गिरीले १ सय ५३ मत पाएका छन् । ७ वटा वडामा प्रमुखको २ हजार ७ सय ८६ मत बदर भएको छ । 

उपप्रमुखमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका इम्तियाज आलमले अग्रतालाई कायमै राखेका छन् । आलमले ३ हजार ३ सय ५९ मत ल्याउँदा लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले ५ सय ४९ मत प्राप्त गरेका छन् ।

राप्रपाकी बिना जैसवाल कुर्मीको मत २ सय ४९ छ भने स्वतन्त्र उम्मेदवार रम्भा मिश्राको ३ सय ३५ मत रहेको वीरगञ्ज महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । उनका अनुसार उपप्रमुखमा सदरभन्दा पनि बढी मत बदर भएको छ ।

उपप्रमुखमा ४ हजार ५ सय ६८ मत सदर हुँदा ५ हजार ९ सय १३ मत बदर भएको छ । 
 

Back to top