×

वीरगञ्ज, ३० बैशाख ।  पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुरस्थित मतदान स्थलमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । नेकपा एमालेको गाउँपालिका अध्यक्षका उम्मेदवार मनोज कुमार गुप्ता र नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार नविन सिंहका समर्थकहरुबिच विवाद शुरु हुँदा झडप भएको हो । 

झडपका क्रममा ३ जना घाइते भएका छन् । केहीबेर तनावग्रस्त बनेको अवस्था प्रहरीले एक दर्जन हवाई फायर गरेर स्थितीलाई नियन्त्रणमा लिएको छ । 
छिपहरमाई गाउँपलिका कै वडा नम्बर २ चेरगहाँ मतदानस्थलमा पनि विवाद भएको थियो । बिहान एक चरण बिवाद भएपनि अहिले अवस्था शान्त भएर पुनः मतदान भइरहेको स्थानीयले बताएका छन् ।

 मतदान सुरु हुनु अगाडि रातिको अध्यारो मैं, बिहान साढे १ बजे जसपाका २ नम्बर वार्डका सदस्य उम्मेदवार धुरन्दर साह कानु र एमालेका उम्मेदवार गुप्ताबीच हात हालाहाल भएर कानुलाई चोटपटक लागेको हो । 


एमालेका उम्मेदवार गुप्ताले जनता समाजवादी पार्टी (जसपा)का समर्थकलाई हातपात गरेको आरोप जसपाका कार्यकर्ताले लगाएका छन् । झडप भएपछि त्यहाँ प्रहरी सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 
 

Back to top