वीरगञ्ज, ३० बैशाख । जेठ २ गते बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदैछन् । मोदीको पाँचौँ पटक हुन लागेको नेपाल भ्रमणले नेपालसँगको मैत्री सम्बन्धलाई प्राथमिकता दिने बताइएको छ ।
यसअघि जनकपुर र मुक्तीनाथको भ्रमण गरेका मोदी बुद्ध जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउन लागेका हुन् ।
लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री देउवासँगै उनका समकक्षी मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रमले भ्रमणलाई बहुआयामी बनाएको छ ।
बुद्धजयन्तीका दिन भारतीय प्रधानमन्त्रीको लुम्बिनी यात्राले अन्तर्राष्ट्रीय जगतमा यस स्थलको प्रचार र ख्याति बढ्ने विश्वास गरिएको छ । यस अघि जनकपुर र मुक्तिनाथको भ्रमणले यी तीर्थस्थलमा श्रद्धालुहरूको आगमन वृद्धि भएको नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्यले बताए ।
यस भ्रमणले नेपाल–भारत ऐतिहासिक एवं अद्वितीय सम्बन्धलाई थप उचाई प्राप्त हुने उद्योगी एवम् वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्यको विश्वास छ ।