×

मिचेल मार्स र डेभिड वार्नरबीचको दोस्रो विकेटक लागि भएको १४४ रनको साझेदारीको मद्दतले दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । पहिलो विकेट शून्यमा आउट भएपछि मिचेल मार्सले ६२ बलमा ८९ रन बनाए भने अर्को छेउबाट डेभिड वार्नरले पनि अविजित ४१ बलमा ५२ रन बनाए ।

मार्स आउट भएपछि पिचमा आएका कप्तान ऋषभ पन्तले चार बलमा १३ रन बनाए र वार्नरसँगै अन्तिमसम्म नटआउट रहे । दिल्लीले यो खेल ११ बल बाँकी रहँदै जित्यो । दिल्लीको पारीमा युजभेन्द्र चहल र ट्रेन्ट बोल्टले एक–एक विकेट लिए ।

दिल्ली क्यापिटल्सको १२ खेलमा यो छैटौं जित हो। योसँगै राजस्थानको समान संख्यामा पाँचौं हार हो। यद्यपी दुबै अंक तालिकामा आफ्नो अघिल्लो स्थानमा नै रहेका छन् । राजस्थान १४ अंकसहित तेस्रो स्थानमा छ भने दिल्ली १२ अंकसहित पाँचौं स्थानमा छ । तर यो जितसँगै दिल्लीको नेट रन रेटमा सुधार भएको छ भने राजस्थानको नेट रन रेट घटेको छ ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई जितका लागि १६१ रनको लक्ष्य दिएको थियो ।

Back to top