×

वीरगञ्ज, २९ बैशाख ।  स्थानीय तहको निर्वाचनअन्र्तगत मौन अवधी शुरु भएसँगै पर्सामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । पर्सा जिल्लामा रहेका १ सय ६७ मतदान केन्द्रमा ३ चरणमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । 

उनका अनुसार पहिलो चरणमा नेपाल प्रहरी, दोस्रो चरणमा सशस्त्र प्रहरी र तेस्रो तथा अन्तिम चरणमा नेपाली सेनाको टोली पचिालन गरिएको छ । म्यादि प्रहरीसहित २७ सय जना सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक बस्नेतले बताए । 

नेपाल नम्बर १४ गुल्म हेडक्वा पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज प्रकाश पोखरेलका अनुसार सिमा क्षेत्र र मतदान केन्द्रहरुमा ८ सय जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । सीमा नाकाको सुरक्षा व्यवस्थाका लागि भारतीय एसएसबी ४७ र ४४ का कमाण्डरसँग पनि समन्वय गरिएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलको भनाई छ ।  

मंगलवार मध्यरातदेखि शुरु भएको मौन अवधिलाई मध्यनजर गर्दै सीमा नाकामा पनि आवागमन बन्द गरेर सीमा शिल गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । नेपाली परिचय पत्र भएका नागरिकलाई भारतबाट नेपाल प्रवेश गर्न दिइएको छ भने नेपालबाट जान भने पूर्ण रुपमा रोक लगाइपनि अतिआवश्यक कार्यका लागि प्रशासनको सिफारिसका आधारमा आवागमन खुला गरिने ढकालले बताए । 

केन्द्रको निर्देशनअनुसार सुरक्षा व्यवस्थालाई कडा पारिएको सशस्त्र प्रहरी बल मधेश प्रदेश मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिवासका प्रमुख तथा बाहिनीपति (सशस्त्र प्रहरी नायब महानिरीक्षक) गणेश ठाडा मगरले बताए ।  

जिल्ला निर्वाचन कार्यालय, प्रमुख निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरुको सुरक्षामा ५÷५ जनाको दरले सुरक्षाकर्मी खटाइएको छ । स्थानीय गाउँपालिकामा सशस्त्र प्रहरी निरीक्षक नपुगेको ठाउँमा सही र असहीको नेतृत्वमा २ वटा मोवाइल टोली र १ वटा स्क्वार्ड टोली खटिएका छन् । नगरपालिकामा प्रहरी निरीक्षकको नेतृत्वमा २ वटा मोवाइल टोली र १ वटा स्क्वार्ड टोली उपमहानगरपालिका ३ वटा मोवाइल टोली र १ वटा स्क्वार्ड टोली र महानगरपालिकामा डिएसपीको नेतृत्वमा र ४ वटा मोवाइल टोली र १ वटा स्क्वार्ड टोली परिचालित छन् ।  

१० वटा गण, २ वटा तालिम शिक्षालय, १३ ठाउँमा ३० जनाको दरले क्वीक रियाक्सन टिम (क्यु आर टि) टोलीले सुरक्षा दिइरहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक ठाढा मगरले बताए । यस्तै बुधवारदेखि २ वटा जिल्लालाई हेर्ने गरी अर्काे टोली पनि परिचालन गरिएको छ । 

सिरसाहा र सप्तरीमा एकवटा टोली, महोत्तरी र धनुषामा एक वटा, सर्लाही र रौतहटमा र बारा र पर्साको सुरक्षा व्यवस्था हेर्ने गरी ८ जिल्लामा ४ वटा टोली खटाइएको छ । ठाडामगरका अनुसार मधेश प्रदेशका ८ वटा जिल्लाका विभिन्न स्थानमा ५ हजार ५ सय भन्दा बढी सशस्त्र प्रहरी खटाइएकोे छ । सूचना संकलन, साना हतियार लगायत, अपराध नियन्त्रणका लागि स्पेशल स्मार्ट टिम पनि विभिन्न स्थानमा खटिएको ठाडा मगरले बताए । 

भोली हुने स्थानीय तहको निर्वाचनलाई भयरहित एवम् शान्त वातावरणमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको जिकिर छ । गृह मन्त्रालयबाट स्वीकृत भएको एकिकृत सुरक्षा योजना २०७८ अनुसार जिल्लादेखि प्रदेशसहित हरेक ठाउँमा सुरक्षाकर्मी तैनाथ रहेको सिंहले बताए । 

यस पटकको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनेमा आईजीपी सिंह विश्वस्त छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग गरी ४ वटै सुरक्षा निकायबाट सुरक्षा भइरहेको हुँदा अराजक गतिविधि गर्छु भन्ने कुरा नसोचे पनि हुने उनको भनाई छ । 

उनले भने, ‘यदि कसैले बुथ कब्जा गर्ने सोच बनाएको छ भने नसोचे पनि हुन्छ । बलपूर्वक मत पत्र च्यात्ने, कोही उम्मेदवारलाई आक्रमण गर्नेदेखि मतदातालाई धाक धम्की दिने जस्ता गतिविधि हुन दिने छैनौ ।’ मतदान केन्द्रको सुरक्षा, मतदाताको सुरक्षा, मत पेटीकाको सुरक्षा एवम् उम्मेदवारहरुको सुरक्षाका लागि सबै व्यवस्था मिलाइएको सिंहले बताएका छन् । 
 
 

Back to top