×

विकास र समृद्धिको आशमा रुमल्लीरहेको वीरगञ्जले अब मुहार फेर्ने बेला भएको छ । हुन त बिकासको कुनै बेला हुँदैन, जहाँसम्म मलाई लाग्छ । विकास त नेतृत्वकर्ताको बिचार र भिजनमा भर पर्ने कुरा हो । 

वीरगञ्जलाई देशकै आर्थिक राजधानी एवम् प्रमुख व्यापारिक शहरको रुपमा मानिन्छ । एउटा ऐतिहासिक तथा पूरातात्विक शहर पनि वीरगञ्ज हो । राणा शासन, पञ्चायती व्यवस्थामा वीरगञ्ज सुन्दर शहर थियो । तर जति व्यवस्थाहरु परिवर्तन हुँदै गए, वीरगञ्जको अवस्था त्यति त्यति खराब हुँदै गएको सत्यलाई नकार्न सकिदैँन । लामो समयदेखि पुनः जनप्रतिनीधि आउँदा जनतामा बिकास र समृद्धिको आशा पलाए पनि उक्त आशा यथार्थमा परिणत हुन सकेन । निर्वाचनताका बाँडिएका झुठा आश्वासन र सपना एवम् प्रतिबद्धताहरुमध्ये ५ प्रतिशत पनि पूरा नहुनु वीरगञ्जबासीका लागि दुर्भाग्य हो । 

विकास शब्दलाई न्याय गर्ने र समस्याहरुलाई निकास दिने खालको नेतृत्व भएको भए शायद वीरगञ्जको परिचय उहिलै फेरिन्थ्यो होला । तर हाम्रो अहोभाग्य, अहिले पनि अघोषित आर्थिक राजधानीका  बासिन्दालाई के खाउँ र के लगाउँ भनेर सोच्नुपर्ने बाध्यता छ । बिहानीको समयमा १० देखि १५ किलोमिटरको दुरीमा साइकल कुदाउँदै ज्याला मजदुरी गर्न वीरगञ्ज आउनेहरुको लर्को देखिन्छ । घण्टाघरदेखि माईस्थानसम्म ‘कुछो काम बाटे का ? हमनी के काम दि ना’ भन्नेहरुको अवस्थाले यहाँका नागरिकको दैनिकीलाई चित्रण गर्छ । अँझ यति मात्रै हैन, दिन भरी काम पाएपछि बेलुकी घर फर्किदा चामल र नुन तेलको जोहो हुने र काम नहुँदा भोकै बस्नुपर्ने दयनीय अवस्थाबाट पनि धेरै जना गुज्रिरहेका छन् । दुई छाक कै जोहो गर्न धौ धौ हुनेहरुले आफ्ना सन्ततीलाई उचित शिक्षा र गुणस्तरीय स्वास्थय सेवा दिनु त परको कुरा । बिरामी परेपछि मृत्युलाई निम्तो दिन बाहेक बिकल्प पनि उनीहरुसँग हुँदैन । 

सरकारी स्कुलमा पनि अंग्रेजी कक्षा, परीक्षा शूल्क, जस्ता विभिन्न बहानामा शूल्क उठाउने प्रवृतिले आधारभूत सम्मको शिक्षा निःशूल्क रुपमा गरिएको छ भन्ने व्यवस्थाको धज्जी उडाइरहेको छ । 
विषयगत शिक्षकको अभाव एकातिर छ भने अर्कोतिर भौतिक पूर्वाधारको अभाव । सामुदायिक विद्यालयको खस्किदो शैक्षिक अवस्थाका कारण सामान्य परिवारका व्यक्तिहरुले पनि नखाई नलगाई आफ्ना सन्तानको उचित शिक्षाका लागि संस्थागत विद्यालयमा भर्ना गरीरहेका छन् । यसले अभिभावकहरु सन्ततीको शिक्षा र भविष्यप्रति चिन्तीत छन् भन्ने स्पष्ट हुन्छ । 

सरकारी अस्पतालप्रतिको नागरिकको विश्वास गुम्दै गइरहेको छ । सबैले विरामी पर्ने वित्तिकै निजी अस्पतालमै पुग्ने गरेको कुराले यो कुरालाई थप पुष्ठी गर्छ । अस्पतालबाट प्राप्त हुने ३२ प्रकारका औषधीको सट्टा सिटामोल पनि क्लिनीकबाट किन्नुपर्ने बाध्यता छ । 

शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद जस्ता क्षेत्र मध्ये कुनै पनि क्षेत्र छैन, जसबाट नागरिकले केही परिवर्तनको आभाष गरुन् । सीमा क्षेत्र वीरगञ्जका लागि अवसर र चुनौती दुवै हुन् । तर न त वर्तमान जनप्रतिनीधिले सीमा क्षेत्रका चुनौतीहरुको सामना गरे, न सीमा क्षेत्रबाट लिन सकिने अवसरको सदुपयोग गरे । शंकराचार्य गेटबाट नेपाल प्रवेश गर्नेहरुलाई वीरगञ्जमै बसीरहुँ भन्ने लाग्नुभन्दा पनि छिटो काम सकेर यहाँबाट जाउँ भन्ने लाग्छ । यो भन्दा ठूलो लज्जास्पद कुरा अरु के हुन सक्छ होला र ? 

बढ्दै गरेको शहरीकरण तथा अव्यवस्थित बस्तीले वीरगञ्जलाई कुरुप बनाइरहेको छ । मापदण्डबिनाका संरचनाहरु जथाभावि निर्माण भइरहेका छन् । आवश्यक पूर्वाधारको निर्माणतर्फ भने कसैको ध्यान पुग्न सकेको छैन । कोही बाहिरबाट वीरगञ्ज आउनेहरुलाई शौच गर्नु पर्ने वा पानी पिउनुपर्ने अवस्था भयो भने त्यसको लागि कुनै संरचना छैन । वीरगञ्ज आफैमा गर्मी हुने स्थान, कतै बसेर शीतल खानका लागि प्रतिक्षालय छैन, रुखको छहारी त अब कल्पना पनि नगरौं । हरा भरा, स्वच्छ, स्वस्थ एवम् सुन्दर शहरको परीचय वीरगञ्जले कहिले पाउला ? 

अब कुरा गरौ नगरपालिकाको, नगरपालिकामा सामान्य सिफारिस बनाउनु प¥यो भने पनि भनेकै समयमा पाउन गाह्रो हुन्छ । कर तिर्न पनि घण्टौ कुर्नु पर्ने अवस्था छ । त्यसमा पनि बिचौलियाको बिगबिगी । कर तिर्न तथा अन्य कुनै सिफारिस बनाउन पनि घुस दिनुपर्ने । जसले घुस दियो उसकै काम छिटो । घरको सबै काम धन्दा छोडेर ५० रुपैया बुझाउन २ सय रुपैयाँ भाडा तिरेर आएका नागरिकको समयको मूल्य कसले बुझ्ने ?

त्यसैले पनि वैशाख ३० गते हाम्रोलाई धेरै महत्वपूर्ण दिन हो । यस दिन हामीले हाम्रो नगर र आगामी पाँच वर्षसम्मका लागि हाम्रो नेतृत्व गर्ने व्यक्तिलाई छान्ने अवसर पाउँछौं । हाम्रो विवेकपूर्ण मतदानले हाम्रो नगर, गाउँ, वडा र टोलको विकास कसरी हुन्छ भन्ने कुरा निर्धारण गर्छ । गत स्थानीय तहको निर्वाचनमा नेतृत्व छान्दा हामीले गरेको एउटा सानो त्रुटीका कारण वीरगञ्जको विकास २० वर्ष पछाडि धकेलिएको छ, यस पटक पनि हामीले त्यही गल्ति दोहोर्याए हामी झन पछाडि धकेलिने छौं । त्यसैले म सम्पूर्ण नगरवासीसँग आफ्नो विवेक प्रयोग गरेर मात्र मतदान गर्न आग्रह गर्दछु ।

Back to top