×

बौरुसिया डर्टमन्डका २१ वर्षीय फरवार्ड अर्लिङ हालान्ड म्यानचेस्टर सिटी जाने सम्भावना बढेको छ। सम्झौताबारे यसै साता टुंगो लाग्ने बीबीसीले जनाएको छ। पछिल्लो केही सातायता प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीसँगै रियल म्याड्रिड र बायर्न म्युनिख हालान्डलाई भित्राउने प्रयास गरिरहँदा सिटी यो  दौडमा अघि देखिएको हो।

युरोपका केहि प्रतिष्ठित सञ्चारमाध्यमले हालान्डले सम्झौता समेत गरेको दाबी गरेका छन्। द एथलेटिकका अनुसार हालान्ड र सिटीबीच सम्झौता भइसकेको छ। सिटी र हालान्डबीच सम्झौताको चर्चा भएको यो पहिलो पटक भने होइन। यी दुई पक्षबीच सम्झौता भएको अप्रिलमा नै समाचार सर्वजनिक भएको थियो। सिटी हालान्डका लागि डर्टमन्डले राखेको रिलिज क्लबको मूल्य तिर्न तयार रहेको बताइएको छ। रिलिज क्लज ७५ मिलियन युरोको रहेको उल्लेख गरिएको छ।

बीबीसीका अनुसार हालान्ड सिटीमा आबद्ध भएको औपचारिक घोषणा सबै प्रक्रिया पूरा गरेसँगै यसै साता गरिने छ। उनलाई ६५ मिलियन पाउन्डमा आबद्ध गर्न लागिएको जनाइएको छ। नर्वेको ब्रेनी र माल्डेबाट उनले खेल जीवन अघि बढाएका थिए। त्यसपछि उनले झण्डै एक वर्ष साल्सबर्गमा बिताएका थिए।

सन् २०२० को जनवरीमा डर्टमन्ड पुगेका उनले त्यहाँ ८८ खेलमा ८५ गोल गरिसकेका छन्। हालान्ड युरोपका ठूला क्लब रियल, बार्सिलोना, बार्यन, पेरिस सेन्ट जर्मेनको आँखामा पनि परेका थिए।

Back to top