×

फाइल तस्बिर

वीरगञ्ज २५ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा बैंक तथा लघुवित्तका कर्मचारीलाई पनि खटाइएको छ ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका प्रबन्धक, सहायक प्रबन्धक र अन्य कर्मचारीलाई जिल्ला निर्वाचन कार्यालय रौतहटले मतदानमा खटाएपछि ती क्षेत्रका बैकिङ्ग कारोबार नै प्रभावित भएको छ ।

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई शुक्रवार दिइएको तालिममा बैंक तथा वित्तीय क्षेत्र कर्मचारी पुगेपछि बैंकमा पुगेका सेवाग्राही मर्कामा परेका थिए । बैंकका कर्मचारी तालिममा गएका कारण शुक्रवार कारोबार नै प्रभावित भएको सेवाग्राहीको गुनासो छ ।

स्थानीय सुनिल साहका अनुसार भिडभाड रहने ती बैंकका शाखाहरु यतिबेला सुनसान छन् । तर निजी क्षेत्रका अन्य बैंक भने शुक्रवार खुला रहेको उनको भनाइ छ ।

 कृषि विकास बैंक लिमिटेड गौर, गरुडा तथा चन्द्रपुरबाट राम उदगार विराज, राकेश यादव, शिवशंकर मण्डल, सोनी झा, राजीवप्रसाद साह, रमेशप्रसाद साह, त्रिवेदीकुमार साह, रामविलास राउत लगायतलाई मतदान अधिकृत तथा सहायक मतदान अधिकृतमा खटाइएको छ ।

राष्ट्रिय वाणिज्य बैंक गौर, गरुडा, मौलापुर र ईशनाथ शाखाबाट निर्वाचनका लागि निरोज पाण्डे, कृष्टिकुमारी विश्वकर्मा, रोशन साह, सन्तोष कुमार ठाकुर, अनिल कोइराला,पवनकुमार कुशवाहा र अरविन्द झालाई खटाएको छ ।

यस्तै नेपाल बैंक चन्द्रपुर, कटहरिया र राजदेवीबाट काशीराज न्यौपाने, चन्दनकुमार झा ,प्रवीणकुमार राउत दीपेन्द्रप्रसाद यादव लगायतलाई खटाईएको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था गरुडा तथा कटहरियाबाट भने रामकिशोर महतो राजकुमार साह, दिनेशकुमार मल्लिक, विवेक ढुंगेल, परमानन्द ठाकुर तथा लक्ष्मीनारायण चौधरीलाई पनि निर्वाचनमा खटाइएको छ ।

 जिल्ला  निर्वाचन  कार्यालयका प्रमुख  निर्वाचन अधिकारी छोटेलाल  दासले कार्यालयमा बाधा नहुने गरी कर्मचारी खटाएको बताए ।  कार्यालयमा बाधा पुग्ने अवस्था आएमा तुरुन्त खबर गर्न बैंकका कर्मचारीलाई भनेको उनले बताए ।

थोरै संख्यामा मात्र बैंक तथा लघुवित्तका कर्मचारीलाई खटाएको उनको भनाइ छ । उनका अनुसार यसअघि निर्वाचनमा पनि बैंकका कर्मचारी खटाइने गरेको थियो ।
 

Back to top