×

वीरगञ्ज, २१ बैशाख ।  गिरीश गिरी पत्रकारिता तथा लेखन क्षेत्रमा कुनै नौलो नाम हैन । मूलधारको मिडियामा लामो समयसम्म रहेर पत्रकारिता गर्नुका साथै ‘वीरगञ्ज मेरो शहरको कथा’ र ‘सत्यमोहन’ पुस्तकका लेखक गिरी राजनीतिमा भने नयाँ खेलाडी हुन् । २०६० सालमा वीरगञ्जका मनोनित नगरप्रमुख स्व.गोपाल गिरीका छोरा गिरीशले वीरगञ्ज महानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवारी दिएका छन् । 

गिरीसँग गरिएको कुराकानीको सम्पादित अंश ।  

पत्रकारिता, लेखक हुँदै अब राजनीति गर्ने सोच बनाउनुभएछ । महानगरको मेयरमा तपाईको अपरझट उम्मेदवारी किन ?

मैले लामो समयसम्म पत्रकारितामार्फत थुप्रै मुद्धाहरु समस्याहरु उठान गरे । ‘वीरगञ्ज मेरो शहरको कथा’ पुस्तकमा पनि मैले वीरगञ्जका धेरै विषयवस्तुलाई उठाउने प्रयास नगरेको हैन । म जन्मिएको, हुर्किएको वीरगञ्ज आजको वीरगञ्ज हैन । हरेक ठाउँमा क्रमिक रुपमा बिकास हुन्छ । तर वीरगञ्ज क्रमिक रुपमा बिनाश हुँदै गयो । बिकासप्रेमी नेतृत्व र नेताहरु कहिले आउलान् र वीरगञ्जलाई पहिलेको जस्तै वीरगञ्ज बनाउलान् भनेर पर्खिरहे । मेरो बुबाले ३ महिनासम्म गरेको काम अहिले पनि उदाहरणीय छन् । उहाँले वीरगञ्जका लागि देखेको सपना पूरा नहुँदै उहाँको हत्या गरियो । अब आफै नआउँदासम्म वीरगञ्जको बिकास हुन्छ जस्तो नलागेपछि मैले उम्मेदवारी दिने निधो गरेको हुँ । 

बुबाले देखेको सपना पूरा गर्न भनीरहँदा यहाँलाई बुबाको सहानुभुतीमा भोट माग्न लागेको भन्ने आरोप पनि लागेको छ । के भन्नुहुन्छ ?

आरोप त जे पनि लगाउन पाइयो । तर खासमा मान्छेको नियत सही हुनुपर्छ । यदि सहि नियत भएका व्यक्तिहरु नेतृत्वमा आइदिएको भए म पत्रकारिता र लेखन कार्य छोडेर राजनीतिमा आउनुपर्ने आवश्यक नै थिएन । आज देशैभर हेर्नुहोस्, शिक्षित एवम् सक्षम युवाहरुको जमात पनि राजनीतितर्फ आकर्षित हुँदैछ । अहिलेसम्म नेतृत्व गरीरहेकाहरुबाट कुनै पनि परिवर्तन र बिकासको विश्वास नगरेपछि सबै आफैबाट परिवर्तन गर्नुपर्छ भन्ने संकल्पकै परिणाम हो मेरो उम्मेदवारी पनि । 

यदि बिकास र परिवर्तनकै लागि उम्मेदवारी हो भने राजसंस्थासहितको हिन्दु राष्ट्रको एजेण्डा बोकेको राप्रपा पार्टी किन रोज्नुभयो ? 

अहिलेको परिवेशमा मैले सबैभन्दा धेरै सामना गर्नु परेको प्रश्न यही हो । यहाँ त पद र पैँसाका लागि बिचार बदल्नेहरुको अनि टिकट पाउनकै लागि पार्टी बदल्नेहरु सबैले चिनिसके । म त आफुलाई भाग्यमानी ठान्छु, मेरो बुबा पनि हलो छापबाट चुनाव लड्नुभयो अनि म पनि हलो छापबाटै । राजसंस्थाको कुरा जहाँसम्म छ, मलाई के लाग्छ भने पार्टीको एजेण्डा र बिचार आफ्नो ठाउँमा छ । तर म त वीरगञ्जको बिकासको लागि अवसर दिने पार्टीको रुपमा राप्रपालाई लिन्छु । शुरुमा यहाँको जिल्ला समितिले मलाई प्रस्ताव राखेपछि मैले घरपरिवारसँग सल्लाह गरे र पछि राप्रपाका केन्द्रिय अध्यक्ष आदरणीय राजेन्द्र लिंगदेन ज्यूको फोन आएपछि उहाँसँग मेरो बिचार मिलेको हुँदा मैले निर्वाचन लड्ने प्रस्तावलाई स्विकार गरे । उहाँले पनि चुनाव खर्चिलो र भड्किलो भएकोमा आपत्ति जनाउनुभयो । मेरो पनि बिचार चुनाव खर्चिलो हुनुहुँदैन भन्ने नै हो । 

तपाईका प्रतिद्वन्दीहरुले त करोडौ खर्च गरीरहेको चर्चा छ । अब हजुरले खर्च नगरेपछि कसरी चुनाव जित्नुहोला त ? मतदाताले भाट दिन्छन् भन्नेमा कसरी विश्वास गर्ने ?

सबैभन्दा ठूलो आधार नै यही हो कि, उहाँहरुले पैँसा खर्च गर्नुहुन्छ । जनता अहिले पनि मुर्ख छन्, केही पैँसा दिँदैमा अनि मासु चिउरा खुवाउँदैमा र मोटरसाइकलमा पेट्रोल भर्दैमा भोट दिहाल्छन् भन्ने भ्रममा उहाँहरु हुनुहुन्छ । तर मलाई पूर्ण विश्वास छ जनताले मलाई नै भोट दिनुहुनेछ भनेर । र म सबैलाई आग्रह पनि गर्छु, जसले जति पैँसा दिन्छ लिनुहोस्, जे खुवाउँछ, खानुहोस् । किनभने त्यो तपाईकै पैँसा हो, भ्रष्टाचार गरेर कमाएको पैँसाले अहिले चुनाव लडिरहेका छन् । त्यही भएर खाने र लिने कुरामा पछि नपर्नुहोस् तर मतदान गर्ने बेला भनेर सोचेर पछि पछुताउनुपर्ने अवस्था नआउने गरी दिनुहोस् । 

तपाईले वीरगञ्जको लागि गरेको परिकल्पना के हो ?

वीरगञ्ज एउटा ऐतिहासिक शहर हो । म अँझै पनि स्मरण गर्न चाहन्छु त्यो दिन, जुन बेला हामी वीरगञ्जको त्रिजुद्ध स्कुलमा पढ्थ्यौँ । त्याहाँ एउटा सामान्य रिक्सा, ठेला चलाउने मजदुरका छोरा पनि मसँगै बसेर पढ्थ्ये भने यहाँका धनि उद्योगी व्यवसायीका छोराहरु पनि हाम्रै बेञ्चमा बसेका हुन्थे । त्यो हो खासमा समानत । तर अहिले त ठेला चलाउनेहरुको छोरा अर्कै स्कुलमा धनाड्यहरुका छोरा अर्कै स्कुलमा । यो पनि कहीँ समानता हो ? हामीले सोचेको वीरगञ्ज हामीले चाहेको शिक्षा प्रणाली यस्तै हो त ? कदापी हैन । सरकारी स्कुलहरुको दुरावस्थालाई सुधार गरेर पुरानै अवस्थामा फर्काउने अनि स्वास्थ्यको क्षेत्रमा रकम अभावकै कारण कसैले पनि ज्यान गुमाउन नपर्ने अनि बाहिरबाट कोही आउने बित्तिकै हराभरा अनि स्वच्छ र सफा शहर होस् । १ दिनको लागि आउने व्यक्ति २ दिन बसोस्, फेरी फेरी आउने इच्छा व्यक्त गरोस् । यो मेरो मात्रै हैन समस्त वीरगञ्जबासीले परिकल्पना गरेको शहर हो । 

कोरोना भाइरसको समयमा अनि विगत ५ वर्षसम्म तपाई कहाँ हुनुहुन्थ्यो ? राजनीतिक तथा सामाजिक योगदान के छ र हामी भोट दिने भन्ने प्रश्न पनि बजारमा उठीरहेको छ । 

कोरोना भाइरसको समयमा यही भएर काम गरेकोलाई मात्रै भोट दिने भन्ने मानसिकता कोही पनि जनतामा छैन । अनि अर्काे कुरा विगत ५ वर्ष सम्म कहाँ हुनुहुन्थ्यो भने प्रश्नको त्यति आवश्यक प्रश्न हैन । म विदेशमा बस्दा पनि वीरगञ्जप्रतिको मेरो माया र प्रेम सदैव एकनास हुन्छ । मैले पत्रकारितामार्फत उठाएका समस्याहरु, मुद्धाहरु एवम् एजेण्डाहरु अनि मेरो भिजन र क्षमताका आधारमा मलाई भोट दिने हो । अनि अहिले जो जो यहाँका उम्मेदवार हुनुहुन्छ । उहाँहरुबाट सन्तुष्टी नभएका वीरगञ्जबासीले पनि विकल्प खोजीरहेको हुँदा त्यही विकल्प बनेर म आएको छु । सबैले राम्रो व्यक्ति राजनीतिमा आउनुपर्छ भन्नुहुन्छ । त्यही राम्रो व्यक्त म हुँ मलाई अवसर दिनुहोस् वीरगञ्जबासीले सोचेको जस्तै वीरगञ्ज बनाएर देखाउने दृढता मसँग छ ।
 

Back to top