×

वीरगञ्ज, १८ बैशाख । मतदातालाई प्रभावित पार्न एमाले लोसपा गठबन्धनबाट वडाअध्यक्षका उम्मेदवारले वितरण गर्न ल्याएको धारा र पाइप प्रहरीले नियन्त्रणमा लिएको छ । 

एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धनका वडाअध्यक्षका उम्मेदवार सन्तोष तिवारीले ल्याएको एक ट्रक धारा र पाइप वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बिन्दवासिनीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रभावित पार्न निर्वाचन आयोगको आचारसंहिता विपरित धारा र पाइप वितरण गर्न लागेको जिल्ला निर्वाचन कार्यालयको सूचनाको आधारमा धारा र पाइपसहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।  

तिवारीको आफ्नो कुनै धारा तथा पाइपको पसल नभएको हुँदा लोसपा र एमालेको गठबन्धनबाट वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार बिजय कुमार सरावगीको निर्देशनमा वितरण गर्नका लागि ल्याइएको स्थानीयले बताएका छन् । 

धारा र पाइप लोड गरिएको ना. ७ त २५७० नम्बरको ट्याक्टरलाई नै स्थानीयले रोकेर निर्वाचनताका किन बाँडेको भन्दै प्रहरी एवम् निर्वाचन आयोगलाई खबर गरेका थिए । यता कलवारले भने मधेश प्रदेशका प्रदेश सभा सदस्य रमेश कुर्मीको आग्रहमा खरिद गरिएको धारा र पाइप ल्याएको प्रतिक्रिया दिएका छन् । 

नियन्त्रीत ट्याक्टरसहित धारा एवम् पाइपको बारेमा थप अनुसन्धान भईरहेको खनालको भनाई छ । 

यस विषयमा बुझ्न विजय कुमार सरावगीसँग सम्पर्क गर्न खोज्दा उनको फोन लागेन ।

(वितरण गर्न लिएको धारा र पाइपसहितको ट्याक्टर स्थानीयले नियन्त्रणमा लिएको भिडियो यात्राडेलीसँग सुरक्षित छ ।) 

Back to top