×

वीरगञ्ज ११ बैशाख । तराईमा बढेको प्रचण्ड गर्मीसँगै आर्थिक महानगरमा चुनाव प्रचार प्रसारको राप पनि तात्तिँदै गएको छ । सत्ताधारी गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार राजेशमान सिंह र प्रतिपक्षी गठबन्धनको तर्फबाट एमालेका विजयकुमार सरावगीले एकापसमा चुनावी आरोप प्रत्यारोपका एजेन्डाहरू अगाडि सारेका छन् ।

वीरगञ्ज महानगरमा गठबन्धनको तर्फबाट जसपाका सिंहको मजबूत जनअधार देखिएपछि उद्योगपतिसमेत रहेका सरावगीलाई चुनाव जित्न साम, दाम, दण्डभेदसँगै कालाजादुको प्रयोग गरेको आरोप लागेको छ । यसैलाई विजयका विपक्षीले चुनावी मुद्दा बनाएका छन् ।

सांसद् प्रदीप यादवका अनुसार मेयर सरावगी चुनाव जित्नको लागी एक हप्तादेखि मसान घाटमा राती राती पूजा गर्दै हिँडेका छन्, त्यहाँ विपक्षीको फोटो राखी कालाजादुबाट हान्ने कामहरू भइरहेको छ । ‘मन्दिरमा पूजा पाठ गरिँदै छ तर पनि चुनाव चाहिँ हामी नै जित्छौ,’ यादवले भने ।

सांसद् यादव विभिन्न ठाउँमा जसपाले गर्ने कोणसभा तथा पार्टी प्रवेश कार्यक्रममा पनि चुनाव हार्ने निश्चित भएका कारण सरावगी कालाजादुको प्रयोगमा लागेको बताउने गरेका छन् । 

यता सरावगीले आफू सात्विक व्यक्ति भएकाले विगतको चुनावमा गायत्री मन्त्रको जप गराएको र यो चुनावमा पनि पण्डितहरूबाट गायत्री मन्त्रको जप गराइरहेको जनाएका छन् ।

वीरगञ्जमा गठबन्धनको तर्फबाट जसपाका सिंह र विपक्षी गठबन्धनको तर्फबाट एमालेका सरावगीबीच नै मुख्य प्रतिस्पर्धी हुने देखिएको छ । अघिल्लो निर्वाचनको अंक गणित र अहिले स्थानियहरुले दिनेगरेको प्रतिक्रियालाई हेर्दा वीरगञ्जमा गठबन्धन मजबूत देखिएको छ । 

वीरगञ्जमा अहिले एक लाख २४ हजार ६४७ जना मतदाता छन् । जसमा पुरुष ७० हजार ८१० र महिला ५३ हजार ८३३ जना छन् । 

गत चुनावमा कुल मतदाता सङ्ख्यामध्ये ६३ प्रतिशतले मत हालेको थियो । यसपालि पनि सोही हाराहारीमा मत खस्ने अनुमान गरिएको छ ।

गत चुनावमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जसपा) का सरावगीले १९ हजार ३ सय ९२, काङ्ग्रेसका अजयकुमार द्विवेदीले १७ हजार १ सय ९७, राजपाका राजेशमानले १२ हजार १ सय ६५ विजयकुमार गच्छदारको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले आठ हजार ७ सय ९, एमालेका बसरुद्दीन अन्सारीले आठ हजार ६ सय ८८, र माओवादीका रहबर अन्सारीले आठ हजार ३ सय ५ मत ल्याएका थिए ।

यसपटकको स्थानीय चुनावमा महानगरको कुल मतदाता सङ्ख्यामध्ये ६३ प्रतिशत मत खस्यो भने त्यो सङ्ख्या ७८ हजार ५ सय २७ हुनेछ । जसमा नगरप्रमुखका लागि दुईजना मात्र प्रमुख उम्मेदवार भए जीतका लागि कम्तीमा ४० हजार मत आवश्यक हुन्छ । 

Back to top