×

वीरगञ्ज, २३ चैत ।  जनताको विकासका लागि काम गर्ने कसम खाएर जनताकै मतबाट निर्वाचित भएका ४ जना वडाअध्यक्ष गलत गतिविधि गरेको भन्दै निलम्बित छन् । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाका ४ जना वडाअध्यक्ष निलम्बनमा परेका हुन् । 

भ्रष्टाचारजन्य काममा संलग्न तथा गलत सिफारिस गरेका कारण वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष अब्बास मियाँ, वडा नम्बर १४ का वडाअध्यक्ष भरतप्रसाद कुर्मी, वडा नम्बर १५ का वडाअध्यक्ष गजेन्द्र प्रसाद कुर्मी र वडा नम्बर १६ का वडाअध्यक्ष श्यामबाबु चौरसिया निलम्बित भएका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकताको गलत सिफारिस गरेको भन्दै वडा नम्बर २ का वडाअध्यक्ष अब्बास मियाँविरुद्ध मुद्दा दायर भएपछि उनी निलम्बित भएका हुन् । 

साविकको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल हालको लोकतान्त्रिक समाजवादी पार्टीबाट मियाँ वडाध्यक्षमा निर्वाचित भएका थिए । 

वडा नम्बर १४ का वडाअध्यक्ष भरतप्रसाद कुर्मी पनि विशेष अदालत काठमाण्डौमा भ्रष्टाचार सम्बन्धी मुद्धा परेपछि निलम्बित छन् । घरबाटो, जन्मदर्ता, विवाह दर्ता लगायत अन्य सिफारिसबापतको राजस्व हिनामिना गरेको प्रमाणित भएपछि अख्तियारले अध्यक्ष कुर्मी, वडासचिव राजकुमार सिंह, तत्कालीन वडासचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अन्सारी र सञ्जयकुमार पटेल तथा कार्यालय सहयोगी जितेन्द्रकुमार कुर्मीविरुद्ध मुद्दा दायर गरेको छ । वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी अहिले निलम्बनमा परेका हुन् ।

तत्कालीन संघीय समाजवादी फोरम हालको जनता समाजवादी पार्टीबाट कुर्मी वडाअध्यक्षमा निर्वाचित भएका थिए । 

वडा नम्बर १५ का अध्यक्ष गजेन्द्रप्रसाद कुर्मी पनि नागरिकता सिफारिस सम्बन्धी मुद्दामा मुछिएपछि निलम्बनमा परेका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएका कुर्मीविरुद्ध विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेपछि उनी निलम्बन भएका हुन् । 

त्यस्तै गलत सिफारिस गरेकै आधारमा वडा नम्बर १६ का वडाअध्यक्ष श्यामबाबु चौरसिया पनि निलम्बित छन् । घरबाटोको सिफारिस गर्दा २८ फिट भएकोमा १५ फिटको बाटो लेखेर सिफारिस गरेको पाइएपछि चौरसियाविरुद्ध मुद्दा दायर भएको हो । चौरसिया तत्कालिन संघीय समाजवादी फोरम हालका जनता समाजवादी पार्टीबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । 

यता वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष तुफान फारुक अन्सारीविरुद्ध पनि जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेपनि राजनीतिक दबाबका कारण उनको फाइल अगाडी बढ्न नसकेको स्रोतले जनाएको छ । 

गलत व्यक्तिलाई मत दिएर बिजयी बनाउँदाको परिणाम अहिले वडा सदस्यले कार्यवाहक वडाअध्यक्षको जिम्मेवारी सम्हाल्नुपर्ने बिडम्बना छ । अब स्थानीय तहका लागि केही समय मात्रै बाँकी रहँदा पुनः कस्ता जनप्रतिनीधि आउने हुन् भन्ने प्रश्न उब्जिएको छ । तसर्थ मतदाताले गम्भिर भएर क्षणिक स्वार्थ भन्दा पनि दीर्घकालिन लक्ष्य र दुरदर्शी व्यक्तिलाई मत दिनुपर्ने चुनौती खडा भएको छ । 
 

Back to top