×

आज मेरो प्रश्न आफैलाई छ
आफुले गरेको र गरिरहेको कामप्रति छ
त्यो कामभन्दा पनि प्रश्न तरिकामाथी छ 
आज महिला हिंसा, घरेलु हिंसा, दमन यी 
इत्यादि सम्बन्धि मेरो आज कुनै तर्क छैन 
कुनै विश्लेषण छैन 
किन भने आज प्रश्न आफैलाई छ । 

मान्छे भन्छ्न, नारी तिमी उर्जाकी खानि हौ
प्रेरणा कि स्रोत हौ
यति सम्म भन्छ्न, तिमी दुर्गा हौ काली हौ चण्डी हौ
तर यहाँ प्रश्न त यो खडा हुन्छ
ती देविहरुको पूजा मात्रै गरिबस्ने कि आफुमा पनि संचित ती देवित्व शक्तिलाई जगाउने ?
सँधै पीडित मात्र बनिरहने कि समाधान खोज्नतर्फ अग्रसर हुने ?
अँह साँच्चै अब तपाईं भन्नुहुन्छ, समाधान कसरी ?
हुन पनी यो प्रश्न स्वयम्मा महत्त्वपूर्ण छ
घरपरिवारको विरुद्द गइ रुष्ट  बनाउन हृदयले अनुमती दिँदैन 
समाजको बन्धनकारी दायराले पनि यो स्विकार्दैन
आफन्तको दृष्टिकोणले समेत नारिलाई उठ्न त्यतिकै जटिल बनाईरहेको हुन्छ
समाधान खोज्नुस, नखोजी भएन
किनकी आज प्रश्न आफैलाई छ ।

घनश्यामको नातिनी, रामकी छोरी, श्यामकी श्रीमती हुनुभन्दा पहिले तिमी मात्र एक नारी हौ
तिम्रो पहिलो पहिचान “नारी हुनु नै हो“ त्यो भन्दा पनि पहिले तिमी एक मानव हौ 
आफ्नो पहिचान खोज्न अरुको सहारा लिन आवश्यक छैन तिम्ले
बुझिराख यी कुराहरु
किनकी आज प्रश्न आफैलाई छ । 

तिमिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनले पर्याप्त अधिकार दिएको हो, त्यसबारे बुझ अनि त्यसको सदुपयोग गर्न सिक
तिमिमाथी भइरहेका हरेक क्रियाकलाप तब मात्र अन्त्य हुन सक्छ्न जब तिमी आफैलाई स्वयम् सघाउन तत्पर हुन्छौ
हिंसा सहेर बस्ने मान्छे पनि आफैमा एक अपराधी हो
त्यसैले निर्णय गर अपराधी बन्छौ कि सामना गर्छौ
छिट्टै निर्णय गर  किनकी आज प्रश्न आफैलाई छ 

नारी तिमी सर्जक हौ
तिमी नवनिर्माणको माध्ययम हौ
त्यो निर्माण सामाजिक, राष्ट्रिय, पारिवारिक सामुदायिक जे पनि हुन सक्छ
तिमी बेलाबेलामा उठिरहने विभिन्न विषयहरुमाथी को प्रश्न हौ
त्यतिमात्र नभएर त्यसका उत्तर पनि तिमी स्वयम् हौ
त्यहिभएर आफ्नो अन्तकरणको आवाजलाई बुझ्ने कोसिस गर 
किनकी आज प्रश्न तिमी आफैलाई छ ।।
 

Back to top