×

फागुन २, वीरगञ्ज ।  आज फेब्रुअरी फोर्टिन । उसो त आजको दिन प्रेम गर्ने सबै जोडीका लागि निकै खास हुन्छ । मेरो लागि खास नहुने कुरै छैन । मेरो लागि खास मात्रै हैन एकदमै खास छ । कारण आज प्रेम दिवस मात्रै नभएर उनको जन्मदिन पनि हो । 

१९ वर्षको किशोरावस्थामै उसैसँग लगन गाँठो कसेर मेरो जीन्दगी उनलाई नै सर्मपीत गरेकी थिएँ मैले । कलिलो उमेर । अपरिपक्व सोच । यद्यपी उसले गर्ने प्रेमलाई मैले परिपक्व ठान्थे । उमेर, चञ्चलेपन, अनि कसैले सम्झाउँदा पनि गलत लाग्ने, म जे गर्छु त्यही सहि हो भन्ने अहमता भएको समय । करिब ५ वर्ष अगाडीको त्यो पललाई म स्मरण गर्न चाहन्छु । 

फागुन २ गते प्रेम दिवस अनि उसको जन्मदिन । मलाई १ गते रातभरी निद्रा लाग्दैन्थ्यो । म कुर्दै थिए त्यो रात । घडिले कतिबेला १२ बजाउँछ  भनेर । भान्साको काम र घर धन्दा सकेर ओछ्यानसम्म आउँदा नै १० बजीसकेको थियो । त्यसपछिको २ घण्टा कतिबेला आउला भनेर कुरीरहे । उता तिमी भने निदाए जस्तै बहाना बनाइरहेका थियौ । 

खासमा तिमी अभिनयमा खप्पिस छौ । तिमीले निदाएजस्तै बहाना गरेको मैले सुइँको समेत पाइन । मलाई लाग्यो तिमी मस्त निद्रामा छौ भनेर । तर तिमी त मेरो परीक्षा लिँदै थियौ । मेरो जन्मदिन विश गर्छ कि नाई भनेर । त्यतिबेलाको २ घण्टा मेरा लागि २ दिन जस्तै लाग्यो । मनमा अनेक कुराहरु खेलीरहे । हाम्रो प्रेम सम्बन्धले विवाहमा परिणत गरेपछिको तिम्रो पहिलो जन्मदिन र हाम्रा लागि पहिलो प्रेम दिवस । अरुभन्दा विशेष कसरी बनाउन सकिएला भन्ने कौतुहलता मनमा थियो । 

यस्तै कौतुहलताका बिच जब घडिमा ११ बजेर ५५ मिनेट भयो । त्यसपछि मेरो प्रतिक्षाको घडि सकिन लाग्यो । टिक टिक टिक त्यो घडिको आवाज । अनि ढुक ढुक ढुक मेरो धड्कनको चाल । ११ः५६, ११ः५७, ११ः५८, ११ः५९ हुँदै १२ बज्यो । ‘ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु’ भन्ने बित्तिकै तिमी पनि उठ्यौ । थ्याङ् क्यु सो मच पुर्णु भन्दै मलाई अंगालोमा कस्यौ । 

मैले तिमीलाई बर्थडे विश गर्ने सोच बनाए जस्तै तिमीले मलाई प्रेम दिवसको शुभकामना दिने योजना बनाएका छौ भन्ने कुराको भान समेत भएको थिएन । तर सिरानी मुनीबाट रातो गुलाफको फूल निकाल्दै तिमीले भनेका शब्दहरु मेरो मनसपटलमा अहिले पनि ताजै छन् । ‘पुर्णु, आई लभ यु सो मच, यो प्रेम दिवस मात्रै हैन हरेक दिनलाई म प्रेमिल बनाउने छु । अनि तिमीलाई प्रेम व्यक्त गर्नका लागि प्रेम दिवस नै कुर्नुपर्ने छैन । हाम्रो लागि हरेक दिन प्रेम दिवस हुनेछ पुर्णु ।’ 

त्यति बेलाको खुशी म शब्दमा व्यक्त गर्न सक्तिन । शायद जीन्दगीमा धेरै खुशी भएको क्षण कुन हो भनेर ? कसैले सोध्यो भने त्यो पल नै त्यो प्रश्नको जवाफ हुन्छ होला । समय बित्दै जाँदा आज फेरी त्यही दिन आएको छ । तर दिन त्यही भएपनि आज परिस्थिती फरक छ । त्यो वर्षको प्रेम दिवस र तिम्रो जन्मदिन हामीले सँगै मनाएर खुशी साटासाट गरेजस्तै यो वर्षको प्रेम दिवस छैन । त्यो वर्षको यही दिन सँगै जीवन जिउने खाएका कसमहरु कति छिटै तिमिले बिर्सिएछौँ ?

मैले कहिलै कल्पनासमेत नगरेको शब्द तिम्रो मुखारबिन्दुबाट सुन्दा मेरो मनमा कति रेक्टर स्केलको भुईँचालो आयो होला ? जब तिमिले भन्यौ नि, ‘पुर्णीमा, अब हामी छुट्टीनुपर्छ । म अरु कसैलाई मन पराउँछु ।’ सँधै पुर्णु भनेर बोलाउने तिमीले पुर्णीमा भनेर अरुले जस्तै गरी बोलाएपछि मेरो मनमा चिसो पसेको थियो । तर तिमीले मेरो मनमा पानी हालेर चिसो मात्रै पारेनौँ । भाला घोपेर मनलाई नै बिझाइदियौ । तर अचम्म के भने नि, तिम्रो फाटेको टिर्सट सिलाउँदा मलाई सानो सियो बिझेको सहन नसक्ने तिमीले मेरो मनमा भाला घोपेर कसरी सह्यौ होला ? 

खैर केही छैन । अब त्यो पललाई धेरै सम्झाउन पनि चाहन्न । किन भने तिमीले त सबै बिर्सिएर नयाँ जीवनको सुरुवात पनि गरीसकेका छौ । यो सब हुनुमा म तिमीलाई मात्रै दोष दिन चाहन्न । कहीँ कतै केही मात्रामा मेरो पनि गल्ती हुन सक्छ । अर्थात सम्बन्धमा आएको उतारचढावको दोष हामी दुवैले लिनुपर्छ । 

यद्यपी सम्बन्ध जोगाउनका लागि मैले भरपुर प्रयास भने गरेकै हो । किन नगर्नु । आँखा चिम्लिएर विश्वास जो गरेकी थिए तिमीमाथी । अँ साँच्ची विश्वास मात्रै हैन । जन्माएर, हुर्काएर बढाएका घर परिवार पनि छोडेर तिमीप्रति समर्पीत भएकी थिएँ । तर जे होस्, आज पनि म असाध्यै खुशी छु । तिमीले आफुले प्रेम गर्ने मान्छे पायौ, तिमी पनि खुशी नै छौ होला भनेर आशा गर्नुको विकल्प पनि मसँग छैन । 

सात जुनी सँगै बिताउने कसम खाएर छुट्टिएको पनि २ वर्ष बितेछ । आजको दिन तिमी मसँग छैनौ, मेरो ठाउँमा अरु कोही छ । तर पनि म स्वतन्त्र पंक्षी जस्तै खुला आकाशमा उडीरहेकी छु । त्यतिबेला तिमीसँगै भएर अनि तिम्रो जन्मदिन भएर आजको दिन विशेष लागे जस्तै आज पनि मलाई यो दिन असाध्यै विशेष लाग्छ । तर विशेष लाग्नुको कारण भने फेरिएको छ । नयाँ जीवन जिउन सिकाएको दिन, राजाको शासन चल्ने राजतन्त्रको व्यवस्था फेरिएर लोकतन्त्र आएजस्तै मैले पनि स्वतन्त्र पाएको दिन । कसरी मेरा लागि खास नहुनु ? अँ साँच्ची तिमीलाई प्रेम दिवसको शुभकामना त दिन सक्तिन र दिँदिन पनि तर अन्त्यमा जन्मदिनको भने शुभकामना ।
 

Back to top