×

वीरगञ्ज, ४ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलको घरमाथि पनि ढुङ्गामुढा भएको छ ।

मधेस प्रदेशको पूर्व भौतिक पुर्वाधार विकास मन्त्रीसमेत रहेका नेता सोनलको बारा जिल्लास्थित निवासमा ३-४ वटा मोटरसाइकलमा आएको अज्ञात समूहले मंगलबार राति ९ बजेको करिवमा ढुङ्गामुढा प्रहार गरेको हो । ढुङ्गामुढा प्रहार भएको समयमा सोनल घरमै थिए ।

ढुङ्गामुढाबाट परवानीपुर गाउँपालिका वडा नम्बर ३ स्थित नेता सोनलको घरको सिसा फुटेको उनका स्वकीय सचिव रमेश सर्राफले बताए । सर्राफका अनुसार मोटरसाइकलमा आएको अज्ञात समूहले नेता सोनल विरुद्ध नाराबाजी गर्दै ढुङ्गा प्रहार गरेको थियो । 'सिसा मात्र फुटेको छ, अन्य कुनै क्षति भएको छैन,' सर्राफले यात्राडेलीलाई भने, 'सोनलज्यू लगायत परिवारका अन्य सबै सदस्य सुरक्षित छन्, प्रहरीलाई जानकारी गराएका छौँ । अनुसन्धान भइरहेको छ ।' 

मधेसको राजधानी जनकपुरधाम कायम भएपछि वीरगञ्जलाई राजधानी बनाउन आन्दोलन गरिरहेको आक्रोशित समूहले ढुङ्गा प्रहार गरेको बुझिएको छ । प्रदेशसभा लोसपा संदसिया दलको नेतासमेत रहेका नेता सोनलले वीरगञ्जलाई प्रदेशको राजधानी बनाउन कुनै पहल नगरी जनकपुरको पक्ष लिएको आरोप लगाउँदै उनिलगायत मुख्यमन्त्री लालबाबु राउतलगायत पर्सा, बाराबाट निर्वाचित अन्य प्रदेशसभा सदस्यहरुको विरोध भइरहेको छ ।

सोमबार प्रदेशसभाले दुई तिहाईको बहुमतले प्रदेशको नाम मधेस र राजधानी जनकपुर पारित गरेपछि विरोध सुरु भएको हो । राजधानी कायम भएसँगै पर्सा र बाराका विभिन्न स्थानमा विरोधका कार्यक्रम सुरु भएका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय बाराले नेता सोनलको घरमाथि ढुङ्गामुढा गरिएको विषयमा कुनै जानकारी नआएको जनाएको छ । बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले आफुलाई यस विषयमा केहि जानकारी नभएको प्रतिक्रिया दिए ।

मंगलबार दिउँसो मात्रै वीरगञ्जमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार भएको थियो थियो । ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई भने पर्सा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।

Back to top