×

वीरगञ्ज, ४ माघ । पोखराबाट वीरगञ्ज आएका एक व्यक्तिलाई लुट्ने तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान पोखराबाट आएका बाराका माजिद अन्सारीलाई अर्धचेत बनाई पैसा लगायत अन्य सामग्री लुट्ने तीन जना प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का सुमन श्रेष्ठ, विकाश थापा मगर र रमेश कुमार साह सोनार रहेको पर्सा प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ९ बजे वीरगञ्जस्थित बसपार्कमा बसबाट ओर्लिएका बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ पर्सा टोला निवासी २३ वर्षीय अन्सारी बिरामी भई सडक छेउमा बोल्न नसक्ने अवस्थामा बसिरहेकोको बेला उनलाई श्रेष्ठ, मगर र सोनारले लुटेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

लुटेराहरुले अन्सारीलाई ना २ ह २७३६ नम्बर को अटोरिक्सामा चढाई साथमा रहेको मोबाइल फोन र नगद समेत लुटेर अर्धचेत बनाई छाडेको पर्सा प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी खनालले जानकारी दिए ।

अर्धचेत अवस्थामा वीरगञ्ज वडा नम्बर १५ प्रतिमाचोकस्थित सडकछेउमा छोडेकोमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले दिउँसो ३ बजे उद्दार गरेको जनाइएको छ । साथै, अन्सारीलाई लुट्ने व्यक्तिहरुलाई तत्काल पक्राउ गरी अपहरण तथा डाँका सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रवक्ता खनालले बताए ।

Back to top