×

वीरगञ्ज, ४ माघ । पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक सवारी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । 

राजमार्गअन्तर्गत सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नम्बर ९ स्थित नोच चोकमा मंगलबार पूर्वबाट पश्चिम तर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस आफै अनियन्त्रित भएर दुर्घटना हुँदा १६ जना घाइते भएका हुन् । 

दुर्घटनामा परेर केहि गम्भीर घाइते भएका छन् भने केहिलाई सामान्य चोट पटक लागेको छ । यद्दपी अहिलेसम्म कसैले पनि ज्यान नगुमाएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी निरीक्षक कृष्ण गिरिका अनुसार बस आफै अनियन्त्रित भएर सडक छेउमा पल्टिएको थियो ।

घाइते हुनेमा सुनसरी जिल्लाको भन्टाबारी-९ बस्ने भोला ४० वर्षीय अरुण महतो, महोत्तरी जिल्लाको बर्दिवास-२ की ३६ वर्षीय बिमला सेन्चुरी, सर्लाही लालबन्दी- ९ की ३७ वर्षीय सुधा खड्का, उनका छोरा ४ वर्षीय कृष खड्का, हरिपुर-२ चिताईनका ६५ वर्षीय रामपुजन कुमर, उनकी श्रीमती ६५ वर्षीय रमनी कुमरी, रौतहट चन्द्रपुर-८ की २५ वर्षीय निल कुमारी राम, सर्लाही लालबन्दी-११ की ६० वर्षीय सिलादेबी ठाकुर, रौतहट राजपुर-२ का ४० वर्षीय राजदेब भगत, उनका छोरा ११ वर्षीय रन्जनकुमार चौरसिया, महोत्तरी बर्दिवास-११ की १९ पुष्पा गौतम, सर्लाही बाग्मतीन-१० की १३ वर्षीय अस्मिता आचार्य, हरिपुर-५ की ४८ की ठगनीदेवी चौधरी, हरिपुर-८ की ७० वर्षीय असिया देवी चौधरी, रौतहट गुजरा- ३ का २४ वर्षीय सयफुरलाई देवान र सर्लाही लालबन्दी -९ का ३७ वर्षीय सुदिप खड्का रहेका छन् ।

घाइतेहरुको हरिवनस्थित नमुना अस्पतालमा उपचार चलिरहेको छ भने एकजना गमभिर घाइतेलाई थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको गिरिले बताए ।

गिरिका अनुसार बस चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

Back to top