×

वीरगञ्ज, ४ माघ ।  वीरगञ्जमा आजदेखि सुरु भएको चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा नेपाली सेनाले सान्दार सुरुवात गरेको छ ।

वीरगञ्जको आदर्शनगर रंगशालामा जारी प्रतियोगिताको पहिलो खेलमा मधेश प्रदेशलाई ० का विरुद्ध ५ गोलले पराजित गर्दै नेपाली सेनाले बिजयी सुरुवात गरेको हो । 

नेपाल हक्की संघले सानो पाइलासँगको सहकार्यमा आयोजना गरेको प्रतियोगिताको सुरुवाती ११ मिनेटमै नेपाली सेनाकी जर्सी नम्बर ३ कमला चन्दले पहिलो गोल गरेर खाता खोलेकी थिइन् । खेलको २२ औँ मिनेटमा नेपाली सेनाकै जर्सी नम्बर ६ सिमा खड्काले दोस्रो गोल गरीन् ।

लगत्तै २५ मिनेटमा नेपाली सेनाकै जर्सी नम्बर १० सीता माया बालले अर्काे गोल गरीन् । ४२ औँ मिनेटमा जर्सी नम्बर १३ निलिमा पाण्डेले र ५८ औँ मिनेटमा जर्सी नम्बर १० सीता माया बालले व्यक्तिगत दोस्रो र टिमका लागि पाँचौ गोल गरीन् ।

मधेश प्रदेशले अथक प्रयासका बाब्जुद पनि खाता खोल्न सकेन । नेपाली सेनाको समूहले मधेश प्रदेशलाई दबाबमा राखिरह्यो ।  ६ समुहको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ ८ गते हुनेछ । 

Back to top