×

काठमाडौं । रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालले देशभर एकैसाथ विरोध प्रदर्शन गरेको छ ।

रुकुममा भएको अमानवीय घटनालगायत देशभरी दलित समुदायमाथि घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै संघको संयोजनमा देशभर एकैसाथ प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा संघले शरिरमा कात्रो र दुवै हात बाँधेर ‘सरकार, अँध्यारोमा कहाँ छ ? उज्यालो यहाँ छ’ भन्ने नारासहित विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा संघका उपाध्यक्ष गोपाल बराइली, सल्लाहकार रेम विश्वकर्मा, उपत्यका समितिका अध्यक्ष सुशील दर्नाल, उपाध्यक्ष गणेश विश्वकर्मा र अन्जान परियारले कात्रो बेरेका थिए भने सो घटनामा मारिएको प्रतिक स्वरुप ५ जनाले हात बाँधेका थिए ।

माइतीघर मण्डलामा भएको सो प्रदर्शनमा नेपाल पत्रकार महासंघका महासविच रमेश विष्टले जातीय भेदभाव तथा छुवाछूत विरुद्धको रुकुम घटनाको राजनीतिकरण नगरी निष्पक्ष छानबिन र कारवाहीको माग गरे ।

दलित माथिको उत्पीडन र भेदभाव तत्काल अन्त्य गर्न सरकारले शुन्य सहनशीलता अपनाएर कानुन कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ । घटनालाई तोडमोड गरेर पीडित परिवारलाई थप अन्याय गरिएकोप्रति सरकारको ध्यानाकर्षण गरिएको छ ।

महासंघका सचिव तथा संघका सल्लाहकार रेम विश्वकर्माले रुकुममा भएको आततयी घटनाले सिंगो दलित समुदायमाथि प्रहार गरिएको बताए । उनले सो घटनामा संलग्नलाई कारवाहीको दायरमा ल्याएर पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले रुकुमपश्चिम घट्नाको जति निन्दा गरेपनि कम हुने भन्दै घट्नामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सरकारसमक्ष माग गरे । उनले यो घट्नामा शीर्ष नेताहरुले अहिलेसम्म किन नबोलेको भन्दै प्रश्नसमेत गरे ।

‘आज रुकुमपश्चिम घट्ना भएको यत्तिका दिन बितिसक्यो, तर यो घट्नाको सम्बन्धमा शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्ड, माधवकुमार नेपाल, रामचन्द्र पौडेल तपाईहरु किन बोल्नुहुन्न ?’ उनले भने, ‘जनार्दन शर्मा र शक्ति बस्नेतले आफ्नो कुरा राख्नुपर्छ । दोषी उम्किनु हुँदैन ।

रुकुममा भएको अमानवीय घटनालगायत देशभरी दलित समूदायमाथि भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन गरिएको हो । संघले काठमाडौँमा माइतीघर मण्डला सहित देशभरी विरोध प्रदर्शन कार्यक्रम गरिएको संघका उपाध्यक्ष गोपाल बराइलीले बताए । उनले यति ठूलो घटना हुँदा पनि राज्य अँध्यारोमा मौन बसेकाले सरीरमा कात्रो र मैनबत्ति बालेर विरोध प्रदर्शन गरिएको बताए ।

संघका सल्लाहकार प्रकाशचन्द्र परियारले रुकुममा ५ जना अवोध युवाहरुको ज्यान जानेगरी भएको सो घटनाको जति निन्दा गरे पनि कम हुने बताए । उनले सो घटनाको सत्यतथ्य विवरण सार्वजनिक गर्न सरकारसमक्ष माग गरे ।

संघको आयोजनामा भएको सो प्रदर्शनमा संविधानसभा सदस्य तथा पूर्वमन्त्री विश्वेन्द्र पासवान, जनता समाजवादी पार्टीका नेता दलमर्दन कामी, दलित अधिकारकर्मीहरु युवराज दर्नाल, प्रदीप सोव, संघका सल्लाहकार अनिल परियार, संघका सचिव सन्तोष गन्धर्व, कोषाध्यक्ष शुष्मा बराली, केन्द्रिय सदस्यहरु भीम घिमिरे, बुद्धि विश्वकर्मा लगायतको सहभागीता थियो ।

Back to top