×

वीरगञ्ज, ४ माघ ।  वीरगञ्जमा आजदेखि चौथो सहाना प्रधान स्मृती राष्ट्रिय महिला हक्की प्रतियोगिता २०७८ सुरु भएको छ । नेपाल हक्की संघले सामाजिक संस्था सानो पाइला सँगको सहकार्यमा प्रतियोगिताको आयोजना गरेको हो । 

नेपाल हक्की संघका केन्द्रिय सदस्य मनोज शर्माको सभापतित्वमा उद्घाटन सत्र सम्पन्न भएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का सभापति मोहमद सहाबुद्धिनले हक्की खेलेको विकासका लागि र खेलाडीको प्रोत्साहनका लागि प्रतियोगिताले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय स्तरका प्रतियोगिता वीरगञ्जमा हुनु वीरगञ्जवासीका लागि खुशीको कुरा भएको उनको भनाई छ । 

त्यसैगरी नेपाली कांग्रेसका युवा नेता कञ्चन झाले खेललाई खेलको रुपमा मात्रै नभएर सामाजिक रुपान्तरणको माध्यम पनि भएको बताए । खेल क्षेत्रमा आवद्ध भएका महिलाहरु सशक्त र सचेत हुने भएकाले महिला हिंसा एवम् घरेलु हिंसा सहनु नपर्ने र अरुलाई पनि सचेत बनाउने भएकाले सामाजिक रुपान्तरणको माध्यम खेल क्षेत्र भएको झाको जिकिर छ । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, नेपाली कांग्रेसका युवा नेता सरोज चौरसिया, वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ की वडा सदस्य कनिका कौशिक लगायतले खेल हक्की खेलको प्रवद्र्धन र विकास गर्नुका साथै हक्की खेलाडीको प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए । उद्घाटन समारोहको सहजिकरण सानो पाइलाका सञ्चार संयोजक विवेक कर्णले गरेका थिए । 

प्रतियोगितामा प्रदेश नम्बर १, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदुर पश्चिम प्रदेश र नेपाली सेना गरी ६ टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा मधेश प्रदेश र नेपाली सेनाको समुहबिच प्रतिस्पर्धा भइरहेको छ । 
 

Back to top