वीरगञ्ज, ४ माघ । मधेसलाई ८ जिल्लामा मात्र खुम्च्याई दिएको भन्दै प्रदेशसभा सदस्यहरुको पुत्ला जलाइएको छ ।
प्रदेशसभा सदस्यहरुले मधेसलाई २२ जिल्लाबाट खुम्च्याएर ८ जिल्लामा सिमित गरेको भन्दै मधेसको राजधानी जनकपुरधाममा मंगलबार युवाहरुले प्रदेशसभा सदस्यहरुको पुत्ला जलाएका हुन् ।
युवाहरुका अनुसार मधेस ८ जिल्ला मात्रै नभएर तराई भूभाग अगोटेका २२ जिल्लाहरु हुन् । तर, प्रदेश २ का सांसद्हरुले प्रदेशको नाम मधेस राखेर त्यसलाई ८ जिल्लामा सिमित बनाई दिएका छन् ।
जनकपुरधामस्थित जानकी चोकमा युवा अभियन्ता सुशील कर्णको अगुवाईमा युवाहरुले ८ जिल्लाको प्रदेशलाई मधेस प्रदेश नमान्ने चेतावनी समेत दिएका छन् । पुतला दहन गरिरहँदा युवाहरुले प्रदेश सांसद् मुर्दावाद, ८ जिल्लालाई मात्रै मधेस प्रदेश मान्दैनौँ, पहिचानसहितको मिथिला भोजपुरा प्रदेश नामाकरण गर लगायतका नाराहरु लगाएका थिए ।
युवा अभियन्ता सुशील कर्णले यो ८ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले नामाकरण पनि सोही पहिचानको आधारमा हुनुपर्ने माग गरे । ‘यो ८ जिल्ला मात्रै मधेस होइन,’ कर्णले भने, ‘२२ जिल्लासहित मधेस प्रदेश नामाकरण गरे हामीलाई स्वीकार छ, नभए यहाँको पहिचान सहित मिथिला भोजपुरा नामाकरण हुनुपर्छ ।’
८ जिल्लाको प्रदेशलाई मात्रै मधेश प्रदेश नामाकरण गरेर प्रदेशसभा सदस्यहरुले अदूरदर्शिता देखाएको उनले आरोप लगाए । प्रदेशको नामाकरणको सवालमा पुनर्विचार नभए यो संघर्ष निरन्तर जारी रहने उनको भनाइ थियो ।
सोमबार मात्रै प्रदेशसभा बैठकबाट दुई तिहाइको बहुमतले प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधाम कायम गरिएको थियो ।