×

वीरगञ्ज, १ माघ ।  वीरगञ्जको नारायणी रंगशालामा जारी नेशनल ईन्फोटेक अन्तर कलेज टुर्नामेन्ट २०७८ को उपाधि सत्यम पब्लिक कलेजले जितेको छ । शनिवार भएको फाइनल खेलमा नेशनल ईन्फोटेक कलेजलाई ७ विकेटले पराजित गर्दै सत्यमले उपाधि चुमेको हो ।

टस जितेर सत्यमले फिल्डींग रोजेपछि ब्याटिंगको निम्तो पाएको नेशनल ईन्फोटेकले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २६ रन जोडेको थियो । नेशनल ईन्फोटेकका प्रवेश कुश्वाहाले ६० बलमा १ छक्का र ८ चौकाको सहयोगमा ६९ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे । त्यस्तै सर्फराज अली मन्सुरीले २५ र अमिर अन्सारीले १० रन बनाए । सत्यमका सलमान आलमले २ तथा निरज पटेल र अभव यादवले १/१ विकेट लिए । 

सत्यमले १९ ओभर २ बलमा जम्मा ३ विकेटको क्षतिमा निर्धारित लक्ष्य पुरा गरेपछि टुर्नामेन्टको उपाधि सत्यमको पोल्टोमा परेको हो । सत्यमका सलमान आलमले २२, अर्विन्द यादवले ३२, सुमित कुवँरले २३ र आसिम हवारीले २६ रन जोड्दै टिमलाई जित दिलाए । 

नेशनल ईन्फोटेकका अबुबकर एक्लैले ३ विकेट लिँदा पनि सत्यमलोई लक्ष्य भेटाउन बाट रोक्न सकेन । प्रतियोगितामा सत्यम कलेजका सलमान आलम म्यान अफ दी म्याच घोषित भएको नेशनल इन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनिष सिँहले जानकारी दिए । 

कार्यक्रममा विजयी खेलाडीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी पवन अग्रवाल, क्यानका अध्यक्ष दाउद अन्सारी लगायतले पुरस्कार वितरण गरेको थिए । 
प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै पूर्व खेलाडी पवन अग्रवालले मोफसलमा आयोजना हुने खेलकुद प्रतियोगिता नै खेलाडी उत्पादनको पाठशाला भएको बताए । प्रतियोगिताले अरुलाई पनि खेल क्षेत्रमा आकर्षित गर्ने खेल खेल्न प्रेरित गर्ने अग्रवालको भनाई छ ।

त्यसैगरी नेशनल ईन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनिष सिँहले खेलतर्फ रुची राख्ने विद्यार्थीहरुलाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरिएको बताए । आगामी वर्षमा अँझै भब्यका साथै बनाएर अरु पनि कलेजहरुलाई सहभागी बनाउने सिँहको भनाई छ । 

क्यान पर्सासँगको सहकार्यमा नेशनल ईन्फोटेक कलेजले आयोजना गरेको प्रतियोगितामा वीरगञ्जका १० कलेजको सहभागिता रहेको थियो ।  

Back to top