×

वीरगञ्ज, ३० पुष ।  माघे संक्रान्तिको अवसरमा हरेक वर्ष वीरगञ्जको स्वीमींग पुलमा आयोजना हुने माघी (खिचडी) को सम्पुर्ण तयारी पूरा भएको छ । 

आदिवासी थारु समुदायले यस वर्ष पनि २६४६ औँ सम्वत मनाउने तयारी गरेका छन् । माघी पर्व आयोजक समितिले शुक्रवार नेपाल पत्रकार महासंघमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत तयारी पूरा भएको जानकारी गराएको हो । 

विगतको भन्दा यस वर्ष केही फरक र नयाँ तरिकाले माघी मनाउने तयारी रहेको माघी पर्व मूल आयोजक समितिका संयोजक रामसुन्दर चौधरीले बताए । 

कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर माघी मनाइने संयोजक चौधरीले बताए । 

थारु कल्याणकारिणी सभाका केन्द्रीय परिषद् नन्दकिशोर पंजियारले नेपालका आदिवासी जनजाति थारु समुदाय अँझै पनि राज्यको विभेदमा परेको हुँदा विभेद विरुद्ध खबरदारी गर्ने पनि कार्यक्रमको ध्येय रहेको बताए । 

थारु समुदायको पहिचान र संस्कृति संरक्षणमा एकजुट हुने सन्देश दिनलाई पनि पर्व मनाउने गरिएको पंजियारको भनाई छ ।  माघी पर्वको अवसरमा रक्तदान कार्यक्रम, थारु समुदायमा प्रचलित खानाका परिकारहरु समेत पर्वमा राखिने प्रचार प्रसार संयोजक बिजया ओझैयाले जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा माघी मूल आयोजक समितिका सहसंयोजक शेखर चौधरी, आर्थिक संयोजक परमानन्द चौधरी, गौतम चौधरी, मनोज चौधरी, एञ्जल चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश २ इन्चार्ज नीरज पिठाकोटे मगर, पर्सा अध्यक्ष अजित भूजेल, संस्थापक उपाध्यक्ष जगत राई लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
 

Back to top