×

वीरगञ्ज, ३० पुष ।  वीरगञ्जको नारायणी रंगशालामा जारी नेशनल ईन्फोटेक कलेज टुर्नामेन्टको उपाधिका लागि नेशनल ईन्फोटेक कलेज र सत्यम पब्लिक कलेज बिच प्रतिस्पर्धा हुने भएको छ । 
बिहिवार भएको पहिलो सेमिफाइनल खेलमा ग्लोबल बिजनेस कलेजलाई २१ रनले पराजित गर्दै सत्यम कलेजले उपाधिको भिडन्त पक्का गरेको हो । टस जितेर ग्लोबल कलेजले फिल्डींग रोजेपछि ब्याटिंगको निम्तो पाएको सत्यमले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ रन जोडेको थियो । 

सत्यमका लागि सलमान आलमले २९, इम्रान अन्सारीले १८ र सुमित कुवँरले १५ रन जोडे । ग्लोबलका रोहन यादवले ३, बिकास गुप्ताले २ र इम्रान शेखले १ विकेट लिए । ९४ रनको लक्ष्य पाएको ग्लोबल १८ ओभर ३ बलमा ७२ रन बनाएर सबै विकेट गुमाएपछि सत्यमले फाइनलको स्थान सुरक्षित बनाएको हो ।

ग्लोबलका इम्रान शेखले २१ र बिकास गुप्ताले १६ रन जोडे । सत्यमका अभय यादव, निरज पटेल र शरोज यादवले क्रमश ४, ३ र २ विकेट लिएर जित सुनिश्चित बनाए । पहिलो सेमिफाइनल खेलमा ४ ओभर बलींग गरेर ७ रन खर्चिदैँ ४ विकेट लिन सफल सत्यमका अभय यादव म्यान अफ दी म्याच घोषित भएको नेशनल ईन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनिष सिँहले जानकारी दिए ।
 
यसैगरी आजै भएको दोस्रो सेमिफाइनल खेलमा नेशनल कलेजलाई ७ विकेटले पराजित गर्दै नेशनल ईन्फोटेक कलेजले उपाधिका लागि सत्यमसँगको भेट पक्का गरेको हो । 

टस जितेर नेशनल ईन्फोटेक कलेजले फिल्डींग रोजेपछि ब्याटिंग गरेको नेशनल कलेजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रनको योगफल तयार पारेको थियो । १ सय २३ रनको जवाफी लक्ष्य पाएको नेशनल ईन्फोटेकले १८ ओभरमा जम्मा ३ विकेटको क्षतिमै लक्ष्य भेटाएपछि फाइनलको स्थान सुरक्षित बनाएको हो । 

प्रतियोगितामा नेशनल इन्फोटेक कलेजका प्रवेश कुश्वाहा म्यान अफ दी म्याच घोषित भएका छन् । अब आगामी माघ १ गते शनिवार बिहान १० बजे सत्यम र नेशनल ईन्फोटेकबिच उपाधिका लागि फाइनल खेल हुने कलेजका प्रबन्ध निर्देशक सिँहले बताए ।
 

Back to top