×

सुस्मिता रेग्मी सुवेदी ।    

कुखुरि काँँ .........आगनको डिलमा रहेको खोरबाट भालेले बिहानीको संकेत ग-यो। भालेको आवाजसँगै आँखा खुले, चराहरुको चिर्बिर चिर्बिर आवाजहरु आइरहेको थियो सायद सुर्य पनि क्षितिज पारीबाट किरण लिएर आउने तर्खरमा थियो !  

सँधै चाँडै उठेर मलाइ ओछ्यानमै चिया पानी लिएर आउने मेरी आमाको आज चाल्चुल थिएन । बाबा दाज्युपनि शायद निन्द्रामै हुनुहुन्थ्यो । बा त झन् किन नगल्नु दिनभर जजमानका घर चहार्नुपर्छ । आमा,दाजु नि गाउँ बेशि गर्दैमा हत्त्तु हुनुहुन्छ ।  सँधै छिटो उठ्नुपर्छ भन्नुहुन्थ्यो, आज आमाका लागि म आफै चिया पानी बनाउन प-यो अनि छिटै स्कुल जान तयारी गर्छु भन्ने सोचेर जुरुक्क उठ्न खोजे तर सकिन । खै केले कम्मर समातेजस्तो भयो । ओहो ! कपडा पनि पुरै भिजेछ, फेरि रगतै रगत पो छ त !

आ ...........मा .....म जोड्ले चिच्याए आमा हतार हतार गर्दै कोठामा आँखा मिच्दै पस्नुभयो । हैन के भयो हँ ? किन केके नभए जसरि कराएकि एकैछिन सुतौ भनेको फेरि तेरा बाले हतार गर्नु हुन्छ अहिले । 

यो ......... यो ......यो के भयो हेर्नुन पुरै रगतै रगत छ यत्रो रगत  कहा बाट आयो ? खै .खै यता आइज, हैन आइजन भनेको पुजाकोठामा सुतेकि छेस फेरि । के भयो र आमा यहाँ सुत्न किन हुदैन ? हुदैन अब त पर सरिस् अब तैले यस्तो बेला छोएको सबै कुरा अछुत हुन्छ बा दाजुलाइ त हेर्न नि हुन्न । बाका काखबाट एक दिन टाढा नभएकी म हेर्न हुन्न भन्दा एकैछिन चिन्तीत भए । आमा जोड्ले चिच्याउनुभो हैन कान सुन्न छोडिस् कि के हो छिटो यता आइज भनेको आमाको त्रासयुक्त बोलि घरभरि गुन्जियो बा को पनि निन्द्रा खुलेछ सरासर आउनु भो ‘हैन के भयो ए जुनेलिकि आमा ? बिहान हुन पाको छैन के को खैलाबैला हो यि आमा छोरीको ?’ के भएन भन्नु न जे नहुनु थियो तेहि भयो मैले त पहिले भनेको थिए, हुर्केकि छोरि पुजा कोठामा नसुताउनु भनेर हजुरले मानेको हैन पर सरिछे अब यो भगवानसँगको पाप कसरि कटाउने हरे दैव ! बा निशब्द हुनुभो बोल्नुहोस् पनि कसरी पुरोहित न पर्नु भो । दाजु पनि कोठामा पस्नै लाग्नु भा थियो आमाले रोक्दै भन्नुभो  ए छोरा त चाँही न आइज है पापको भारी बोक्न, अब यस्लाइ हेर्न हुन्न एक महिना ।

यतिभन्दै आमाले सारि धरधरि च्यात्दै भन्नुभयो ‘अब यस्लाइ कहाँ पठाउँ अन्त तल गोठमा गोरुका थला, माथि बस्नु गाइलाइ छुन हुन्न । गाइत लक्ष्मी हुन, घरको धुरि हेर्न हुन्न  दाजु भाइ बासँग बोल्न नि हुन्न सबै ठाउमा अशुभ हुन्छेस अब ! आमाका कुरा सुनेर अचम्म भए अनि भने आमा यो महिनावारी त प्राकृतिक होरे शिक्षकले भन्नु भएको महिनावारी पछि हरेक किशोरीको शारीरिक बिकास अँझ बढी हुन्छ उनिहरु परिपक्व हुँदै  जान्छन र उनिहरुमा सन्तान जन्माउन सक्ने क्षमताको पनि बिकास हुन्छ । यस्तो बेलामा शारिरिक पिडा बढी हुने भएकोले सरसफाइ र खानपानमा ध्यान दिएन भने महिलाको पाठेघर क्यान्सर जस्ता ठुला रोग समेत लाग्छ रे । हजुरले त के के भन्नु हुन्छ आमा ?

आमा अलिक रिसाएर चर्को आवाज निकाल्दै बोल्न थाल्नु भो ‘हरे दैव आफु अनपढ भएर दुख पाए भनेर छोरिलाइ खाइ नखाइ स्कुल पठाको हेर हेर बुद्धि ! हैन यो मास्टरले नि के सिकाउँदा रहेछन् । आफ्नो धर्म संस्कारका त कुरै सुन्दैनन त आजका केटाकेटि ।’  आमा मास्टर साहेबलाइ दोष नदिनुहोस् न उहाँहरुले त हामिलाइ राम्रो कुरा सिकाउनु भाको छ ।  खुब सिकाएछ्न राम्रो जानिछेस अँझ बढि बोल्छेस अब थुतुनो नी चलाउन आउने भएछ तलाइ  गाउँलेले भनेका थिए छोरिलाइ पढाउन हुन्न हो रैछ दाजुले डिग्री गरेर नि अझै मुख लगाउन जानेको छैन । थपक्क जान्छेस कि हात छोडौ ?

आमाका तिखा बचनले तिर बनेर घोचिरहयो, हरेक खुशिहरुलाइ यहि घरमै छोडेर दुइचार ओटा थाङ्ना र आफुलाइ पुग्ने आँसु लिएर हिँडे म । मेरा स्कुलका किताबहरुले मलाइ पर्खिरहेका थिए तर आमाको बचनले तिनिहरुलाइ सुम्सुम्याउन समेत सकिन ! अघिपछि एक्लै कतै नहिँड्नु, जान सक्दिनस जमाना खराब छ भन्ने मेरा बा आज आदर्शको खोल ओढेर धर्मको ताला मुखमा झुन्ड्याएर बसे, आमा रुढिबादी कुरितिको पछ्यौरी ओढेर रिमिक्क परिन, दाइको डिग्रीको प्रमाणपत्रमा पनि उल्लेख रहेनछ मलाइ रोक्ने शब्दहरु । 

मेरो बाटोमा कसैले तगारो लगाउन सकेन र कोहि साथि बन्न सकेन । अलि तल पुगेर फर्केर घरतिर हेरे, कालो कुकुर मेरै पछि पछि रहेछ सायद उस्लाइ थाह थियो म एक्लै थिए भनेर । यि पशुहरुलाइ पनि कति ज्ञान हुन्छ है बोलि दिन चाँही कसले कन्जुस्याइँ ग-यो होला ? यदि यो बोल्ने थियो भने दुःखका पोकोहरु खोलेर छरपस्ट पार्थे होला म । साँच्चै म नितान्त एक्लो भए यि खोला नाला पहाडहरुलाइ साथि बनाउनुपर्ने कस्तो दिन आयो । 

यत्तिकैमा मेरि स्कुले साथि कान्छिमायालाइ सम्झिए, उ पनि भर्खरै महिनावारी भएकी थिई तर उस्ले कुनै कुरा बार्न परेन । अँझ भनौ उसका निम्ति कुनै कुरा अछुत भएन । उ मत्वालि  (लिम्बु) जातकि थिई । उनिहरुकोमा यस्तो उस्तो केहि हुन्न रे भगवानले मलाइ चाँही किन ब्राह्मणको कोखमा बास गराए होला ? अँह अनि साच्चै यो जात धर्म कस्ले बनायो होला ? मन मनै प्रश्नै प्रश्नहरु जागे तर अनुत्तरीत थिए । 

यदि छोरि भएकै कारण यत्रो सजाय भोग्नुपर्छ भने बरु नारि जातिको अन्त्य नै होस् । तिनै नारिका महिनावारीको रगतमा नौ महिना गुडुल्किएर तिनै नारिको अङ्गबाट जन्मिएर नारिकै अङ्गबाट तृप्त भएका  पुरुष आज त्यहि नारि महिनावारी हुदा अछुत हुन्छे आखिर किन ?

कति सम्मको अत्याचार हँ ? धर्मका नाममा यत्रो दुःख किन भोग्नु पर्ने हो नारिले ? मनमनै प्रश्नहरु गरे तर उतर कहिँ भेटिन ।  हुन त भोगेर आएकि आमाले त धर्मकै नाममा यस्तो गरिन् अरुको के कुरा गरौ । यत्तिकैमा गोठ पुगे मालि गाइले म गएको सुइँको पाउने बितिकै बा ...... गरि उस्लाइ सुम्सुम्याउन लम्किएका हातहरुलाइ रोके मैले आमाका कुरा सम्झेर (गाइ त लक्ष्मी  हुन छुन हुन्न) गोठमा टाढा बस्नु भनेकाले सकिनसकि लिस्नो चढे दुइ तिन खुट्किला के पार गरेकि थिए चिप्लिएर भुइमा लडे आइया नि बाबा ..........तर त्यहाँ मलाइ सुन्ने कोहि थिएन घर देखि धेरै तल थियो गोठ । हतपत कोहि आइनपुग्ने एकान्तमा आखिर उठ्नु त थियो नै बिस्तारै उठे फेरि लिस्नो चढेर बिस्तारै गएर बसे । साँच्चै मैले सोचेभन्दा फरक दुनियामा आएकी म मनभरि डरै डर बोकेकि थिए । 

बिहान यसो उसो गर्दैमा बित्यो तर पनि खाना लिएर कोहि आएन सँधै बिहानै खान्न नि आमा भन्दा गालि गरिगरि कोच्याउने मेरी आमालाइ आज केले दिएन होला ? दँशैमा दाजुले किनिदिएको सानो घडिमा हेरे बिहानको ११ बजेछ । आमाले खाना ल्यानुहुन्छ र खाउँला भन्ने आश पनि हराइसकेको थियो । त्यतिकैमा आमाका चुराहरुको आवाज आयो आशा थियो आमा भात लिएर माथि आउनु हुन्छ अनि मन फुकाएर आमाका काखमा रुन्छु तर कहाँ भनेजस्तो हुँदो होत जिवन । आमा तलैबाट चिच्याउनु भो ‘जुनेलि ए जुनेलि ........ भात छ यहाँ छिटो आएर खा फेरी काग आएर खाइदेला । म माथि आउन भ्याउँदिन ।’

पहिँले म खान्न आमा भन्दा आफै मुछेर खुवाउनु हुन्थ्यो तर आज .....। थिल्थिल भएको शरीर र त्यो लिस्नो सम्झेर झर्न मन थिएन तरपनि भोको पेटले तल झार्न बाध्य बनायो । अघिपछि सुकिलो सानो थालमा भात र फुलबुट्टे कचौरामा तरकारी ल्याएर दिने मेरी आमा आज काम लाग्दैन भनेर छुट्याएर राखेको टपरिमा कुकुरलाइ जसरि सबैथोक एकैठाउ हालेर ल्याएर राखिदिनुभएछ । हरेक गासहरु आँसु झार्दै सके तर पनि आमा भात अलिकति भन्न मन थियो अर्थात आधा पेट मात्र पुग्यो तर खै कस्लाइ भन्ने । 

अब भने बाँच्न मन लाग्न छोड्यो, साँच्चै बोझ भयो आफ्नो जिवन आफैलाइ । र कम्मरमा बाँधेको सल निकालेर पासो बनाए, मुन्टो छिराए  तर फेरि बा को वर्षाैँ देखि जिम्मेवारिले मैलिएको र पसिनाले सजिएको टोपि याद आयो । आमाले फेर्न नसकेर दश ठाउँ टालेको चोलि याद आयो,दाजुले मेरा लागि देखेका सुनौला सपनाहरु याद आए । र मैले आत्माहत्या गर्न सकिन । हरेक जवाफ बिहिन प्रश्नहरुसँग लुकामारि खेल्दा खेल्दै दिन बित्यो । 

सुर्यले प्रकाशको ढोकामा चुकुल लगाएर साँँझलाइ पठायो । एक थान जुन पनि क्षितिजमा आउने तर्खरमा थियो । झ्याउँकिरी र जुनकिरीहरु आफ्नै दुनियामा थिए । छटपटि र डरका टुसाहरुले घोपिरहेका थिए, नजिकैको परालको मुठो तानेर सिरानि बनाए भदौरे मकैका खोस्टाहरुको बिछ्याउना बनाए र निन्द्रालाइ साथिबनाउने तर्खर गरे ।  कुन्नि कति बजेको थियो एक्कासि मालिगाइ कराएको आवाज आयो । खल्ट्याङ्खुल्टुङ आवाज आयो डरले सातोपुत्लो उड्यो । एक दुइ जना छोरा मान्छे मतिरै आउँदै थिए । म चिच्याए ‘को हो तपाइहरु ? पख्नुस न आउनु म छुइ भएकि छु, तपाईंहरुले छुन हुन्न पाप लाग्छ रे आमाले भनेको’, मेरो आवाजको कुनै मतलब भएन उनिहरु मतिरै आए र एकले मलाइ समाते अर्कोले मुखमा पट्टि बाँधिदिए । अब म जति चिच्याए पनि कसैले सुन्ने थिएन हुनत अरुबेला नि कोहि थिएन । थिल्थिलो भएको शरिरमाथि उनिहरुले लछारपछर पार्न थाले मेरा कपडाहरु खोल्न थाले र भन्दै थिए आहा ! .....................आवाज सुनेको झै लाग्यो तर ठम्याउन सकिन  ।

बिहान भएछ क्यारे आँखा अझ खुलेका थिएनन तर कानले आवाजहरु सुनिरह्यो  म हिजो यत्रो चिच्याउदा कोहि नआएका आज किन आएका होला ? ति मान्छेहरुलाइ सोध्न मन थियो । तर कोहि भन्दै थिए ‘बिचरी घर कि एउटै छोरि त्यो पनि यस्तो भो एक रातमै अब महिनौ कसरि कटाउलि र यस्ले ! कोहि भन्दै थिए ‘यस्तो बेलामा आएर नि कुरितिको पछि लागेर यो एकान्तमा हुर्केकि छोरि छोडेर अब पछुताएर के गर्छौ ? अरु त के भनौ डिग्रीको प्रमाणपत्रले समेत रोक्न सकेनछ भन्दै थिए ।

अलिअलि आँखा खुले पहिलो नजर बाबामै प-यो, उहाँका आँखामा पश्चातापको आगो दन्किएको थियो । ति अङगालोहरु मलाइ अङगाल्न आतुर थिए तर अँझै समाजको डर पनि सहजै थियो । आमाको त्यो अनुहारको माया मैले पहिले कहिलै यतिधेरै देखिन,  यो प्राकृतिक नियम हो भनेर शिक्षा दिने शिक्षक पनि दर्शक मात्र भएको देखे ।

दाजु पनि निःशब्द देखे र फेरि आँखा बन्द गरे त्यतिकैमा साइलि काकि अलिक परैबाट कराउदै आउनु भो ‘हेर हेर यिनिहरुको बुद्धि, यो कुलङ्घार्निको मुख हेरेर बसेका मैले त पहिले भनेको थिए यस्को चालामाला ठिक छैन भनेर छोरि मान्छे भएपछि ठाउँमा बस्नु्पर्छ नि जोसँग पनि बोल्यो जो सँग पनि हाँस्यो कहिले के को कार्यक्रम भन्यो कहिले के को भेला भन्यो हिँड्यो, बाउ आमाले छाडा छोडेर भएको हो यो सब तेस्को नाठो बोलाएर रमाइलो गरिहोलि रातभरि अनि अहिले चोखो हुने नाटक गर्छे  । यस्ताको त मुख हेर्न नि नपरोस छि ।’ रेडियोमा सुनेकि थिए गोठ बसेका बेला सर्पले टोकेर मरेको बरु त्यहि दिन देख्नु नि यस्तो देख्नु भन्दा त ।यस्ले त न आफ्नो नाम राखि न त समाजको छि यस्ताको मुख म त हेर्दिन थु !

Back to top