×

वीरगञ्ज, २६ पुष ।  वीरगञ्ज महानगरपालिकाअन्र्तगतका विद्यालयहरु बन्द नहुने भएका छन् । वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सोमवार आफ्नो आधिकारिक पेजमा एक सूचना जारी गर्दै विद्यालय बन्द नहुने जानकारी गराएको छ । 

संघिय सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिसिसिएमसीको सिफारिसका आधारमा माघ १५ गतेसम्म देशैभरका विद्यालय बन्द गर्ने निर्णय गरेपनि वीरगञ्जका विद्यालय बन्द नहुने भएका हुन् । अर्को सूचना नआउँदा सम्म महानगरपालिकाअन्र्तगतका विद्यालयहरु स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सूचारु राख्न शैक्षिक प्रशासन महाशाखाले आदेश जारी गरेको छ । 

वीरगञ्ज अहिले ग्रिन जोनमा रहेको हुँदा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था नआएको महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए । अहिले विद्यालयहरुमा कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन भईरहेकाले विद्यालय बन्द भएमा खोप अभियान बन्द हुने र यसले गर्दा बालबालिकाहरु जोखिममा हुने भएकाले पनि विद्यालय बन्द गर्नु अनुचित हुने महानगरप्रमुख सरावगीको भनाई छ । 

संविधानमै आवश्यक्ताअनुसार स्थानीय सरकारले निर्णय लिन पाउने व्यवस्था भएको हुँदा सोही अधिकारको प्रयोग गरेर विद्यालय सुचारु राख्न आदेश जारी गरेको सरावगीले बताए । अहिले कतिपय विद्यालयहरुमा अर्धवार्षिक परीक्षासमेत सञ्चालन भईरहकाले र विद्यालयमा भ्याक्सिनेसन चलीरहेकाले विद्यालय सुचारु राख्ने निर्णयमा पुगेको सरावगीको भनाई छ ।

Back to top