×

वीरगञ्ज, २५ पुष ।  पर्साको धोबिनी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत राजु साहको विरुद्धमा जनप्रतिनीधिहरुले प्रदर्शन गरेका छन् । अधिृकत साहले १ करोडभन्दा बढी रकम निकासा गरेर विभिन्न शीर्षकमा खर्च गरेको आरोप लगाउँदै जनप्रतिनीधिहरुले साहको विरुद्धमा नाराबाजी गरेका छन् ।

जनप्रतिनीधिको स्विकृति र सहमति बिना नै विकास तथा विभिन्न शीर्षकमा करोडौ रुपैयाँ निकासा गरेर हिनामिना गरेको जनप्रतीधिहरुले आरोप लगाएका छन् । प्रदर्शनकारीले अधिकृत साहको कार्यकक्ष र लेखा अधिकृतको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन् ।

गाउँपालिकाले गरेको मेयर कप, मोतिबिन्दुको शल्यक्रिया, शिक्षक नियुक्ती, धान बाली विकास लगायतका विभिन्न शीर्षकमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको जानकारीबिना नै करोडौ रकम निकासा गरेर अनियमितता गरेको उनीहरुको आरोप छ । 

यस विषयमा बुझ्न खोज्दा गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीले आफु बैठकमा रहेको भन्दै पन्छिए । 

यता आरोप लागेको अधिकृत साहले आफुलाई सरुवा गराउन गाउँपालिका अध्यक्षकै षड्यन्त्रका कारण जनप्रतिनीधिहरुले विरोध गरीरहेको प्रतिक्रिया दिए । 

आफुले अनियमितता गरेको प्रमाण भए अख्तियारमा उजुरी दिन चेतावनी दिँदै साहले आफुले कुनै किसिमको अनियमितता नगरेको र सबै रकमको हिसाव आफूसँग सुरक्षित रहेको दावी गरे । निर्वाचित जनप्रतिनीधिले भन्ने बित्तिकै नहुने किसिमका कुनै कामहरु कानुनी प्रक्रियाका कारण असहमति जनाउँदा आफूविरुद्ध जनप्रतिनीधिलाई उक्साएर नाराबाजी गर्न लगाएको साहको आरोप छ । 

जनप्रतिनीधि र कर्मचारीले एकअर्कालाई दोषारोपण गरेपछि जनताको कामहरु प्रभावित हुनु स्वभाविकै हो । यसर्थ कर्मचारी र जनप्रतिनीधिबिच सहमति होस् र गाउँपालिकाका कामकाजहरु अगाडी बढुन् । 
 

Back to top