×

वीरगञ्ज, २४ पुष ।  वीरगञ्जको रानिघाटस्थित यात्रा डेलीको कार्यालयमा शनिवार बिहान साहित्यकारहरुको जमघट भएको छ । प्रभात काव्य यात्राअन्र्तगत हरेक महिनाको अन्तिम शनिवार आयोजना हुने कार्यक्रम आज यात्रा डेलीको कार्यालयमा सम्पन्न भएको हो ।

सो अवसरमा विगत लामो समयदेखि नेपाली साहित्यमा सक्रिय साहित्यिक चौतारी नेपालकी केन्द्रिय अध्यक्षसमेत रहेकी गीता भण्डारीले समय शीर्षकमा लेखिएको कविताका साथै बुबा सम्बन्धी लेखिएको कविता प्रस्तुत गरेकी थिइन् । यस्तै प्रमोद कुमार पाण्डेले भोजपुरीमा लेखिएको गीता खण्डकाव्यको अंश सुनाएर माहोललाई संस्कृतमय बनाए । 

त्यसैगरी लक्ष्मी साहित्य परिषद्का अध्यक्ष महेशचन्द्र गौतमले पनि साहित्यीक कार्यक्रम भएकोमा खुशी व्यक्त गर्दै आफ्नो सृजना सुनाएका थिए । पत्रकार रितेश त्रिपाठीले भोजुरी तथा हिन्दी भाषामा आफुले सृजना गरेका सन्देशमुलक रचना प्रस्तुत गरेका थिए । 

त्यसैगरी गायक तथा संगीतकार एवम् सर्जक अजमत अलीले गीत सुनाएर संगीतमय माहोल सृजना गरेका थिए । वीरगञ्जस्थित त्रिजुद्ध स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा श्रेया रायले वैश्विक महामारी कोरोना भाइरसको कारण सृजित अवस्थालाई कवितामार्फत प्रस्तुत गरेर सबैलाई आफूतिर आकर्षित गरेकी थिइन् ।

अनलाईन खबरका  पर्सा जिल्ला संवाददाता सुरेश बिडारीले पनि आफ्नो रचना सुनाएका थिए । सञ्चारकर्मी सूर्यनारायण वि.क. (शुभचिन्तक) ले मुक्तक र गीत प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध पारेका थिए ।

कार्यक्रमलाई समापन गर्दै यात्रा डेलीका प्रबन्ध निर्देशक एवम् फोटो पत्रकार राम कुमार सर्राफले वीरगञ्जमा साहित्यीक जमघटलाई निरन्तरता दिएर साहित्यतर्फ रुची राख्नेहरुलाई अवसर प्रदान गर्नुपर्ने बताए ।

प्रभात काब्य यात्राको हरेक कार्यक्रम यात्रा डेलीकै कार्यालयमा गर्न आग्रह गर्दै साहित्यको संरक्षण, प्रबद्र्धन र विकासका साथै साहित्यकारहरुको सम्मानका लागि यात्रा डेली सँधै तत्पर रहने प्रतिबद्धता पनि सर्राफले व्यक्त गरेका छन् । 


 

Back to top