×

बिपीको नाम भजाएर ४६ सालको परिवर्तनपछी, नेपाली कांग्रेसले देशलाई लुटनु लुट्यो । सबै संघ संस्थाहरुलाई पङ्गु बनाउने र देशको अधोगतिको क्रम गिरिजा प्रसादको मन्त्रिमण्डल बनेदेखी सुरु भयो । 

चैते कांग्रेसको आगमनले कांग्रेसको मात्रै नभएर समग्र देशकै भविष्यमा ग्रहण लागेको स्वयम कांग्रेसीहरुनै बताउँछन् । संस्थागत आतंककारीको बिजारोपण भने गिरिजाकै पालाबाट भयो । एयरलाईन, आयल निगम, बासबारी जुत्ता कारखाना, जनकपुर चुरोट कारखाना, वीरगञ्ज चिनी काराखाना लगायतका सरकारी संस्थाहरुलाई निमिट्यान्नै पारेर धेरैको रोजीरोटीमा लात हान्ने काम पनि त्यही बेला भयो । 

आफुलाई लोकतान्त्रीक पार्टीको रुपमा विकास गरेको दावी गर्ने काग्न्रेसले नै २०४६ सालदेखी सबैभन्दा बढी देशमा राजतन्त्र जस्तै शासन गर्यो । यद्यपी राजतन्त्रमा शासकहरु भएपनि विकास निर्माणका कामको गति भने रोकिएको थिएन । तर कांग्रेस सत्तामा पुगेपछि भने न त देशको अवस्था फेरियो न त देशवासीको । 

जुन सुकै शासन पद्दत्तीमा पनि प्राकृतिक बिकास हुनु स्वभाविकै हो । यि प्राकृतिक विकासबाहेक देशका ठूला परियोजना र जनजिविकाका लागि गरेका महत्वपुर्ण कामहरु देखाउ भन्दा देखाउन सक्ने अवस्था छैन । 

प्रजातन्त्रको नाम बेचेर बुख्याचाहरुले देशको लागि केही गर्न नसकेपनि आफ्नो र आफ्नो परिवारको लागि भने अथाह सम्पत्ती जम्मा गर्ने काम गरेका छन् । समाजवादको सट्टामा व्यक्तिवाद हाबी भएदेखि नै राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण आरम्भ हुन्छ । अहिले हाम्रो देशको हबिगत यस्तै छ । 

कांग्रेसई अग्रसरतामा अङ्कुरण भएको मध्यावदी चुनावले अदालतलाई पनि विवादित बनाउँदै गयो । झण्डै ४ दशकभन्दा बढी समयसम्म पद तथा पोजिसनमा बसेकाहरुलाई अँझै पनि नपुगेर अहिलेसम्म पनि ८० प्रतिशत नेताहरु कब्जा जमाएर बसीरहेका छन् । 

गुण्डाहरुलाई राजनीतिक संरक्षण दिएर देशलाई गुण्डाराज बनाउने प्रक्रिया पनि यिनै कांग्रेसीहरुले सुरु गरे । माले, मशाले,  मण्डले र कम्युनिस्ट भनेको एकै हुन् भन्ने गिरिजालाई देवत्वकरण गर्ने कांग्रेसकै कारण देशमा विदेशिहरुको चलखेल गर्ने केन्द्र विन्दुको सुत्रपात भयो । ४६ सालदेखिका काङ्ग्रेसी नेताहरुको सम्पत्ति राष्ट्रियकरण गर्ने हो भने, देशको २ या ३ पटकको आर्थिक वर्षको बजेट तयार हुन जान्छ । 

देशको सरकारी शिक्षा प्रणालीलाइ ध्वस्त पारे । चोरेर पिएचडि गरेकालाई आफ्नो अनुकुल प्राईभेट कलेजको अनुबन्धन प्राप्त गर्नको लागि भाइस चान्सलर नियुक्ती गरे । 

२०४६ सम्म देशका कारीब ३० देखी ४० हजार युवाहरु वैदेशिक रोजगारीमा जाने गर्दथे । अहिले त्यो दर घट्नुपर्ने र स्वदेशमै रोजगारीको अवसर बढ्नुपर्नेमा वैदेशिक रोजगारीको सिलसिलामा श्रम र पसिना बगाउने युवाहरुको संख्या बढेर करिब ९० लाख पुगेको छ । 

राष्ट्रपति बन्ने लोभमा देशलाई धर्मनिरपेक्षताको भुमरीमा फसाउने गिरिजा प्रसाद कोइरालालाई संस्थागत आतंककारी नभनेर के भन्ने ? आफ्ना झोलेहरुलाई लोकतन्त्रको दुहाइ दिएर आफ्नो दुनो सोझ्याउनेको मनसाय बुझ्न नसकेर उनकै जयजयकार गर्ने हामी पनि कतै भ्रममा त छैनौँ ? यो सोच्नुपर्ने प्रश्न हो । 

पर्सा जिल्लामा आफुलाई लोकतन्त्रवादी र सच्चा कांग्रेसी कहलाउने अजय द्विबेदी, अजय चौरसिया, सुरेन्द्र चौधरी, राजेन्द्र बहादुर अमात्य, रमेश रिजाल जस्ता नेताहरुको पहलमा पर्सा जिल्लाले के पायो ? कांग्रेसको  पहलमा पर्सा जिल्लामा कतिवटा उद्योग धन्दा खुले, कती युवाहरुलाई संस्थागत रोजगारिको अवसर सृजना गरे ? यी जनमुखी प्रश्नहरुको जवाफ दिन नसक्ने नेताहरुले फेरी लोकतन्त्रको डिङ हाँकेको सुन्दा हाँस्यास्पद लाग्छ । वर्षौंदेखि संसद्मा थन्किएको वीरगञ्ज विश्वविद्यालयको विषयसमेत उठान गर्न नसक्ने र पहल कदमी चाल्न नसक्नेहरुबाट अरु के आश गर्नु ?

सामन्ती गर्वबाट जन्मिएर मेरै गोरुको बाह्रै टक्का भन्ने मानसिकता बोकेका यी नेताहरुलाई आफ्नो क्षेत्रमा एसईई दिएका, प्लस टु पास गरेका, स्नातक गरेका, स्नातकोत्तर गरेका विद्यार्थीहरु कति छन् भन्ने समेत हेक्का छैन । सडक, नाला, गेट जस्ता भौतिक संरचना निर्माण गर्ने स–साना आश्वासन बाँडेर जनतालाई दिग्भ्रमित पार्ने क्रमलाई अब पनि नरोके जनता चुप लागेर बस्ने छैनन् । 

अब जनता पनि सचेत भईसकेका छन् । चुनावताका हात जोडेर भोट माग्न आउँदैमा भोट दिने समय बदलिसकेको छ । अब भोट किन हाल्ने भन्ने ठोस भिजन जनताले खोज्ने छन् ।  शिक्षित, दुरदर्शी एवम् जनताको भावनालाई कदर गर्ने र देशलाई विदेशीहरुको गिद्धे नजरबाट जोगाउन सक्ने क्षमता भएका नेतृत्व अब देश र देशवासीले खोजीरहेका छन् । 

देशलाई रसातलमा पु¥याउने मुख्य राजनीतिक दल कांग्रेस नै हो । ५ पटक प्रधानमन्त्री बनेर अँझै ज्योतिशको भविष्यवाणीकै भरमा सात पटक प्रधानमन्त्री बन्छु भन्ने सपना बोकेका शेर बहादुर देउवाको पुरानो ईतिहास पुनरावृति हुँदैछ ।

भूमि आयोग खारेजी, जयसिंह थामी बेपत्ता, १४ सय सडक आयोजना रद्द, कालो धन सेतो पार्ने प्रपञ्च, न्यायाधीशलाई मन्त्री उपहार, अनि मोतीपुर गोली काण्ड । पछील्लो ४ महिनामै यति देखेपछि अरु के नै बाँकी रह्यो र ? देउवाले त झन कांग्रेसको अस्तित्व नै प्रचण्ड एण्ड कम्पनीलाई सुम्पीसके भन्दा फरक नपर्ला ।  

भाइरल र भाईरसबिचको भिन्नता छुट्याउन नसक्ने गुण्डाहरुलाई राष्ट्रिय सभाको सदस्य बनाउनुले देशलाई गुण्डाराज बनाउन खोजेको प्रमाणित हुन्छ । ईमान्दारीताका साथ कर्तव्यनिष्ठ भएर राजनीति गर्नेहरुलाई पाखा लगाउँदै गुण्डालाई राष्ट्रिय सभा सदस्य बनाएपछि राष्ट्रिय सभालाई संसद् किनबेचको थलो बनाएको पुष्ठि भएको छ । 

वर्तमान परिस्थितीलाई नियाल्ने हो भने अँभै दयनीय छ । यिनै नेताहरुका कारण लामो त्याग र तपस्यापश्चात प्राप्त गणतन्त्र संकटमा परेको छ । न्यायालयको वर्तमान अवस्था जगजाहेर छ । 
सर्वोच्च अदालतमा विश्वनाथ उपाध्यायदेखि हाल बहालवालबाहेक २१ जना प्रधानन्यायाधिशहरू भए । एकाध अपवाद बाहेक कुनैपनि प्रधानन्याधिशको बहिर्गमन सम्मानजनक तथा गम्भीर आरोपबिहीन रूपमा भएन । बाँचेका प्रधानन्याधिशहरुले अहिले कोतपर्वबाट जीउँदै उम्किएझैँ ठानीरहेका होलान् । 

यद्यपी देशको र देशवासीको अवस्था देख्दा जोकोहीलाई पनि दया माया लाग्नुपर्ने हो । तर पनि चेत नपलाएका नेताहरुदेखि अब होसियार हुने र सही नेतृत्व चुन्ने चुनौती अब आम जनतामाझ आएको छ । 

परिणामस्वरुप आगामी निर्वाचनमा देश र जनतालाई माया गर्ने र सचेत एवम् शिक्षित व्यक्तिलाई जनताले जिताउनेछन् अनि देशको कायापलट प्रारम्भ हुनेछ भनेर विश्वास गर्नुको विकल्प देखिदैन ।

Back to top