×

वीरगञ्ज, २२ मंसिर ।  बुधवार मर्यादिन महिनावारी दिवस विविध कार्यक्रम गरी मनाईएको छ । यद्यपी महिनावारीको विषयमा अँझै पनि खुलेर बहस गर्ने बेला हाम्रो समाजमा भईसकेको छैन । महिनावारी भएपछि लाज मान्ने र लुकाउने परिपाटी अँझै पनि हाबी छ । महिनावारीको समयमा हरेक नारीलाई माया, साथ, सहयोग र हेरबिचारको आवश्यक्ता पर्छ । तर त्यस्तै समयमा एक्लै कोठाभित्र कसैसँग पनि नछुवाएर राख्ने परम्परा हाम्रै समाजमा अँझै जिवितै छ । यस्ता अन्धविश्वासको अन्त्यका लागि यो मर्यादिन महिनावारी दिवसले सघाउ पुगोस् । 

फरक समुदायका २ महिला सञ्चारकर्मीको महिनावारी अनुभव 

सोनम गौतम 
पहिलो पटक ‘पर सरेको’ भन्ने शब्द सुन्ने बेला म कक्षा ६ मा अध्ययरत थिएँ । सुन्ने बित्तिकै कौतुहलता जाग्यो, आखिर के रहेछ त पर सरेको ? एक महिनामा चार दिनसम्म पर सरेको बेला भान्सा, पुजा कोठा छुनु हुँदैन भनेर आमाले सिकाएपछि थाहा भयो । आमा भन्नुहुन्थ्यो, ‘उमेर बढ्दै गएपछि हरेक छोरी मान्छे महिनावारी हुन्छिन्, । तिमी पनि हुन्छेउ । यो प्राकृतिक देन हो । डराउनु पर्दैन छोरी ।’ आमाको अन्तिम वाक्य ‘डराउनु पर्दैन छोरी’ सुनेर म निडर भए । अब निडरताको बहादुुरीपन हेर्न र भोग्न बाँकी थियो । 

दशैँको समय, विद्यालय बन्द । मम्मी, ठूली मम्मी र बहिनीसँग म प्रसिद्ध मन्दिर गढीमाई गएकी थिएँ ।  मन्दिरमा पूजा पाठ सकेर बसमा फर्किदै गर्दा मलाई असहजताको आभाष भयो । पेट दुखेर शरिर चिसो भएको भान भयो । मम्मीलाई पेट दुख्यो भनेर सुनाउँदा भोकले होला भन्दै टार्नुभयो । अरु बेलाको भन्दा त्यो दुखाई अलि बेग्लै भएर होला भोकले पेट दुखेको जस्तो मलाई लागेन । दुखाई सहँदै भएपनि बसमा यात्रा गर्नुको विकल्प थिएन । 
जसोतसो बसपार्क पुगियो । बसबाट ओर्लिने बेला सुरुवालमा रगत लागेको देखेपछि मम्मीले भन्नुभएको थियो, ‘यो त पर सरिछे ।’ 

मम्मीसँगको कुराकानीमा डराउनु पर्दैन छोरी भनेको मनसपटलमा ताजै भयो । मम्मीले डराउनु पर्दैन भनेपछि ढुक्क भएकी म त्यो बेला अब मर्छु जस्तै भए । छोरी भएर जन्मिएकोमा पहिलो पटक पछुतो लाग्यो । एकातिर असह्य रुपमा पेट दुखेको पिडा, अर्काेतिर महिनावारी भएपछि घर परिवारदेखि टाढा एक्लै बस्नुको पिडा । यि दुवै पिडा मेरो लागि अकल्पनीय थिए । 

मम्मीकै आग्रहमा पहिलो दिन छिमेकीकै घरमा बसे । अर्काे दिन बिहानै ५ बजे उठेर मामा घर गए । माईजुलाई भनेपछि एउटा छुट्टै कोठामा राखेर झ्याल ढोका सबै बन्द गरिदिनुभयो । अब ७ दिनसम्म घाम हेर्न नपाईने माईजुले भनेपछि थाहा भयो । अहिले सम्झिदा पनि अचम्म लाग्छ । अहिलेको जस्तो मोवाईल, ईन्टरनेट पनि थिएन । ७ दिन पनि ७ जुनी बिते जस्तै लाग्थ्यो । अरुलाई सामान्यतया ४ दिनसम्म हुने महिनावारी मलाई १५ दिनसम्म रक्तश्राव हुन थाल्यो । 

महिनावारीकै कारण मैले धेरै पटक परीक्षासमेत दिन पाएकी छैन । मलाई महिनावारीको समयमा पेट दुख्दा आफ्नै साथीहरुले अनि आफन्तहरुले, ‘कसैलाई नभएको महिनावारी यसैलाई भयो’ ‘बढी नाटक गर्छे’ जस्ता कुराहरुले अँझै पिडा थप्थे । समय परिवर्तशिल छ । विस्तारै समाज बदलिँदैछ । समयसँगै मानिसको मानसिकता पनि बदलिने क्रममा छ । महिनावारी हरेक नारीमा हुने सामान्य प्रक्रिया हो भनेर सबैले बुझ्न आवश्यक छ । 

अर्चना परियार
सँधै जसो बिहान ६ नबज्दै निद्रा खुल्ने म आज अबेरसम्म पनि निद्रामै थिए । मम्मी, भाई, बहिनीहरुभन्दा अगाडी नै उठेर बिहानको लगभग आधा काम सक्ने  म आज ८ बज्दासम्म पनि ओछ्यानमै भएपछि आमालाई अचम्म लाग्दै थियो । 

सानो कोठामा म, भाई, बहिनी सबै मिलेर आमासँगै सुत्थ्यौँ । आज निद्रा खुल्दा वरीपरी कोहि थिएन । घडिले साढे ७ बजाएको थियो । बिहानको शितले चिसिएको आँगन पनि घामले तातिसकेको थियो । तर मेरो सुरुवाल भने भिजेको जस्तै अनुभव भयो । उठेर हेर्दा पछाडी रगत लागेको थियो । म डराए । एक्कासी सुरुवालमा रगत लागेको देखेपछि के भयो ? कसरी रगत लाग्यो ? कतै यौनीमा घाउ त भएन ?१३ वर्षको कलिलो बाल मस्तिष्कमा यस्ता यावत प्रश्नहरु थुप्रिन थाले । ‘नानी किन ढिला उठेको ?’ भन्दै मेरो माईलो दाई आउनुभयो । दाईको अगाडी बोली नफुटेपछि केही भयो होला भन्दै फर्किनुभयो ।

एकछिनमा फेरी मम्मी आउनुभयो । मलाई केही राहत भए जस्तै लाग्यो । मम्मीलाई डराउँदै सुरुवालमा लागेको रगत देखाए । म डराएर रोईरहेको बेलामा रगत देखेर मम्मीको मुहारमा हाँसो फुत्किएपछि मलाई झन रिस उठ्यो । म रिसाएको आभाष भएपछि मम्मीले भन्नुभयो, ‘त नछुने पो भईछस् छोरी ।’ एउटा कपडा दिँदै मम्मीले अँझै थप्नुभयो, ‘अब दाई भाई कसैलाई पनि हेर्नु हुँदैन । 
घरमा कुनै सामान पनि छुनु हुँदैन । भान्सा र पुजाका सामाग्रीबाट टाढै बस्नुपर्छ । ७÷८ दिनसम्म अरुको घरमा बस्नुपर्छ ।’ अँझै मम्मीको बोल्ने क्रम रोकिएको थिएन । तर मैले नै रोकेर भने, ‘नाई मम्मी म कसैको घरमा बस्दिन ।’ यत्तिकैमा हाम्रो कुरा सुनेर आउनुभएका दाईलाई मम्मीले म नछुने भएको जानकारी दिँदै बहिनीलाई हेर्न नपाईले बताउनुभयो । तर दाईले हजुरभन्दा अगाडी नै मैले हेरिसके । अनि अरुको घरमा किन जानुप¥यो ? यहीँ बसे भईहाल्यो नी । दाईले मेरै पक्षमा बोलेको देखेपछि शरिर अलिकति हलुका भयो । 

महिनावारी भएपछि बिहे गर्ने बेला भयो भन्ने समाजको बुझाईको अगाडी मैले आफ्नो अनुभव सुनाउनु व्यर्थ जस्तै लाग्यो । सँगै पढ्ने साथीलाई पनि भन्ने आँट गरिन । तर पनि एकान, दुईकान, मैदान जसरी म महिनावारी भएको हल्ला स्कुलभरी फैलिएछ । त्यसपछि साथीहरुले जिस्क्याएको सम्झिँदै घरमा आएर रुनुको विकल्प थिएन म सँग । 

अहिले पनि कहिलेकाँही दाजुभाई बिरामी हुँदा महिनावारी नबारेर भए भन्दै मम्मीले बिना गल्तीको आरोप लगाउनुहुन्थ्यो । तर अचेल म बुझ्ने भएकी छु । मलाई यो सबै अन्धविश्वासमा विश्वास लाग्दैन र आफैबाट समाज परिवर्तनको सुरुवात गर्नुपर्छ भन्नेमा विश्वस्त छु । 
 

Back to top