×

फाइल तस्विर ।

वीरगञ्ज, २२ मंसिर ।  निर्धारित समयभित्र निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कारवाहीको दायरामा ल्याउने पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले चेतावनी दिएका छन् । 

जिल्ला प्रशासन कार्यालय पर्सामा मङ्गलवार सम्पन्न सुरक्षा निकाय, पर्सा बाराका ठेकेदार र सरोकारवालाबिचको बैठकमा प्रजिअ ढकालले अब कुनै पनि बहानामा तोकिएको मितीमा निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई उन्मुक्ति नदिने बताएका छन् ।

बैठकमा वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन छ लेन सडक तोकिएको समय फागुन महीनाभित्र निर्माण गर्ने सहमति भएको छ । यसका साथै अन्य ६ बुँदे सहमति पनि बैठकले गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए । 

व्यापारिक मार्ग आयोजनाले मितेरी पुलदेखि रजतजयन्ती चोकसम्म तत्काल टेन्डर गरी सडक प्याचिङ र ओभरल्यापको काम गर्ने तथा सडक विभागले तत्काल माईस्थान चोकदेखि पावरहाउस चोकसम्म सडकको स्टीमेट गरी निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

६ लेन सडकअन्तर्गत परवानीपुरस्थित सडकको बीचमा रहेको विद्युत्को पोल हटाउन आवश्यक सुरक्षाकर्मी खटाउने, जीतपुर सडकखण्ड निर्माण कार्यलाई तीव्रता दिने, कारखानाको अगाडि अनावश्यक निर्माण सामग्री र ठूला सवारीसाधन पार्किङ निषेध गर्ने, कलकारखानाले ढल निकासको व्यवस्था आफैं मिलाउनुपर्ने, नगरपालिका, शहरी विकास आयोजनाको कार्यालय, नेपाल विद्युत् प्राधिकरण, टेलिकम, खानेपानी तथा सरसफाइ आयोजनाले सडक निर्माणमा अवरोध नपुग्ने गरी आआफ्नो तरीकाले सहयोग गर्नुपर्ने, विना कारण निर्माण कार्य ढिलाइ भएमा निर्माण व्यवसायीलाई तत्काल कारबाही गर्ने बैठकमा निर्णय भएको छ ।

आयोजना कार्यालयकाअनुसार आइसिपीदेखि पथलैयासम्म ५० मिटर चौडाईको ३०.६८ किलोमिटर छ लेन सडक निर्माणाधिन अवस्थामा छ । आइसिपीदेखि पथलैयासम्म १३ वटा ठेकेदार कम्पनीले ठेक्का सकारेका छन् । 

बैठकमा बाराका प्रजिअ कृष्णबहादुर कटुवाल, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, नेपाली काङ्ग्रेस पर्साका सचिव श्याम पटेल, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, आयोजनाका प्रमुख मनीषकुमार साह, सघन शहरीका प्रमुख शिखर लामा तामाङ, ठेकेदार प्रतिनिधि विवेक नेपाल, दिलीप साह, सुरज चौधरी, युरेन्द्र थापा, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीलगायत पर्सा/बाराका सुरक्षा प्रमुखहरूको सहभागिता थियो ।
 

Back to top