×

वीरगञ्ज, २२ मंसिर ।  निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलको नेटवर्कमा स्टामार्टफोन प्रयोगकर्ता १ करोडभन्दा बढी पुगेका छन् ।
मुलुकमा स्मार्टफोनको पहुँच बढ्दै गर्दा स्मार्टफोन बोक्ने ग्राहक बढ्दै गएका हुन् ।

एनसेलको मुख्य लगानीकर्ता आजियाटाले सार्वजनिक गरेको यस वर्षको त्रैमासिक वित्तीय विवरणअनुसार उसको नेटवर्कमा स्मार्टफोन प्रयोग गर्ने ग्राहकको संख्या ६५ प्रतिशत छ ।

वित्तीय विवरणअनुसार हाल उसका ग्राहक १ करोड ६४ लाख ९० हजार छन् । यसका ६५ प्रतिशत भनेको १ करोड ७ लाख १८ हजार पाँच सय हुन्छ ।

पछिल्लो एक वर्षमा एनसेलको नेटवर्कमा स्मार्टफोन बोक्ने ग्राहकको संख्या १ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको यसै अवधिमा १ करोड ५३ लाख ३२ हजारमा ग्राहकमध्ये ६४ प्रतिशतले स्मार्टफोन बोक्थे । अर्थात, गत वर्ष ९८ लाख १२ हजार ४ सय ८० ग्राहकसँग स्मार्टफोन थियो ।

टेलिकम कम्पनीहरुले गाउँगाउँमा थ्रिजी र फोरजीको विस्तार गरिरहेका छन् । साथै, पछिल्लो समय बजारमा सस्तो मूल्यमा पनि स्मार्टफोन उपलब्ध हुनु र विदेश गएका आफन्तले पनि परिवारलाई स्मार्टफोन पठाउने क्रम बढ्दो छ ।

यी सबै कारणले मुलुकमा स्मार्टफोनको पहुँच बढ्दो छ । स्मार्टफोनको पहुँच बढेसँगै मोबाइल डेटाको खपत पनि बढिरहेको छ । एनसेलका कुल ग्राहकमध्ये ५४.४ प्रतिशतले मोबाइल डेटा खपत गरिरहेका छन् ।

एनसेलले यस अवधिमा गरेको आम्दानीमा ३० प्रतिशत हिस्सा डेटाको छ । जसअनुसार डेटाबाट ३ अर्ब ४ करोड ७४ लाख रुपैयाँ आँँम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिको यस्तो आम्दानी २४ प्रतिशत थियो ।

एनसेलले यस वर्षको तेस्रो त्रैमासिक (जुलाई–सेप्टेम्बर) अवधिमा १० अर्ब १५ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो गत वर्षको सोही अवधिमा उसको आम्दानी १० अर्ब ३ करोड ६० लाख रुपैयाँ थियो । यस हिसाबले हेर्दा उसले आम्दानी १.२१ प्रतिशतले वृद्धि भएको छ ।

Back to top