×

वीरगञ्ज, २२ मंसिर ।  बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २२ मटेरियास्थित स्वास्थ्य चौकीमा औषधीको अभाव खट्किएको छ । हुन त अस्पतालबाट औषधीको आश गर्ने समय छैन । तर पनि सामान्य सिटामोलसहितका अत्यावश्यक औषधी र स्वास्थ्य उपकरणकै अभावमा सेवाग्राहीलाई सेवा नै नदिनुले जनतामाथिको अन्याय हो । 

सरकारी अस्पतालबाट निःशूल्क रुपमा वितरण हुने औषधीसमेत अभाव हुँदा गर्भवति महिला, प्रेसर, दम, चर्मरोग, ग्यास्टिक लगायतका रोगबाट पिडितहरु प्रभावित भएका छन् । सरकारले ७६ प्रकारका औषधी र स्वास्थ्य सामाग्री निःशूल्क उपलब्ध गराउनुपर्ने भएपनि उक्त नियमको कार्यन्वयवन कुनै पनि स्वास्थय संस्थामा भएको पाइँदैन । मुस्किलले कहीँकतै ३२ प्रकारका औषधी वितरण हुने गरे पनि आनाकानी र बहानाबाजी हुने गरेको छ । शरिर चिलाउने समस्या लिएर स्वास्थ्य चौकी जाँदा औषधी नपाएको मटेरियाका स्थानीय अक्षयलाल महराको गुनासो छ । 

सरकारले ७६ प्रकारका औषधी वितरण गर्ने नियम बनाउने तर औषधी नपठाउने समस्याका सृजना भएको स्वास्थ्य चौकीका सिनियर अहेव सिकेन्द्र मण्डल बताउँछन् । औषधी आएपनि सिमित मात्रामा आउने र स्वास्थ्य चौकीमा बिरामीको चाप अत्यधिक हुँदा पनि औषधीको अभाव हुने गरेको मण्डलको भनाई छ । प्रेसर, दम अनी ग्यास्टीकका रोगीहरुले प्रयोग गर्ने औषधी सकिएको लामो समय वित्दासमेत स्वास्थ्य चौकीमा औषधी आईनपुगेको अहेव मण्डलले बताए ।

यति मात्रै नभएर कोही घाउचोटका विरामी आए भने प्राथमिक उपचारका लागि पनि आवश्यक समाग्री नभएको मण्डलको भनाई छ । नगरपालिकाबाट डे«सिङ्ग सेट माग गरेको भएपनि कुनै सुनुवाई नभएको उनी बताउँछन् । 

गर्भवति महिलाहरुको गर्भको अवस्था परीक्षण गर्ने तराजुको समेत स्वास्थ्य चौकीमा व्यवस्था छैन । तराजुकै अभावमा गर्भवतिको नियमित तौल परीक्षण गर्ने काम १ वर्षदेखि ठप्प छ । यता कलैया उपमहानगरपालिकाका स्वास्थ्य संयोजक प्रेमचन्द्र जैसवाल भने स्वास्थ्य चौकीले माग गरेमा औषधी पठाईदिने र समस्याको समाधान हुने बताए । 
 

Back to top