×

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाह समारोह मंगलबारबाट शुरु भएको छ । राजस्थानको सवाई माधोपुरस्थित एक भव्य शाही होटलमा उनीहरुको विवाह हुँदैछ ।

डिसेम्बर ९ मा कट्रिना र विक्की विवाह बन्धनमा बाँधिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको विवाहमा भारतका राजनीतिज्ञ, बलिउडकर्मी र आफन्त सहभागी हुनेछन् ।

यसैबीच कट्रिना-विक्कीको विवाह विरुद्ध राजस्थानका एक वकिलले उजुरी दर्ता गराएका छन् । जिल्ला विधिक सेवा प्राधिकरणमा दर्ता गराएको उजुरीमा विवाहका लागि स्थानीय चौथ माता मन्दिरको बाटो बन्द गरिएकाले त्यसलाई रोक्न माग गरिएको छ ।

कट्रिना-विक्कीको विवाहका लागि स्थानीय प्रशासनले सोमबारदेखि आइतबारसम्म चौथ माता मन्दिरको बाटो बन्द गराएको छ । बाटो बन्द गर्दा हजारौं भक्तजनलाई असुविधा हुने भन्दै स्थानीय अधिवक्ता नेत्रविन्द सिंहले होटलका प्रबन्धक, कट्रिना कैफ, विक्की कौशल र सवाई माधोपुर जिल्ला कलेक्टरलाई विपक्षी बनाएर उजुरी दर्ता गरेका हुन् ।

Back to top