×

वीरगञ्ज, २१ मंसिर ।  नेपाली काँग्रेको १४ औं महाधिवेशन रोचक मोडमा पुग्दैछ । सभापतिमा शेरबहादुर देउवालाई टक्कर दिने बलियो उम्मेदवारको खोजी भइरहेको छ ।

देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समिकरण बनिसकेको छ । प्रदेश तहको अधिवेशनसम्म यी दुईको समिकरणले काम गरेको छ । जसका कारण प्रदेश १ र बागमतीमा यो समूहले महत्वपूर्ण जित हासिल गरेको छ ।

देउवा र सिटौलाबीचको एलाइन्सले संस्थापन इतर दबाबमा परेको छ । अब वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाका सामु मिल्नुको विकल्प नहुने अवस्था बनेको छ । यी ४ नेता मिलेर साझा उम्मेदवार दिएमा दुवै शक्तिबीच कडा प्रतिष्पर्धा हुनेछ । त्यसबेला उपसभापति विमलेन्द्र निधि निर्णायक शक्ति बन्नेछन् ।

निधि आफू निर्णायक शक्ति बन्दै गरेको भेउ पाएर उत्साही छन् । निधिले त्यतिबेला देउवा या इतर समूहसँग महत्वपूर्ण राजनीतिक लेनदेनको कुरा गर्न सक्छन् । विशेषगरी प्रदेश २ मा निधिको पकड बलियो छ ।

निधिले देउवाको साथ छाडिसकेका छन् । तर, उनी फर्कने सम्भावना पनि छ । देउवाबाट निकै पेलाईमा परेको भोगाईले भने उनी असन्तुष्ट छन् । त्यसकारण पावर सेयरिङ गरेर इतर समूहसँग मिलेर बढ्ने सम्भावना पनि छ ।

विश्वस्त स्रोतका अनुसार निधिलाई मिलाउन देउवाले निकै पहल गर्दै आएका छन् । तर, सफल हुन सकेका छैनन् । निधि भने प्रकाशमान सिंह र सशांक कोइरालासँग मिलेर जाने गरी सन्देश दिइरहेका छन् । परिस्थिति उनले भने अनुकूल बढ्दै गर्दा निर्णायक शक्ति निधि नै हुँदैछन् । उनको हातमा काँग्रेसको भावी सभापति जिताउने शक्ति हात पर्दैछ ।

Back to top