×

रौतहट १४ मंसिर । रौतहटका बन तस्करहरुले काठ चोर्न नयाँ जुक्ती निकाल्न थालेका छन् । तस्करले आफ्नो साईकलको स्वरुप परिवर्तन गरी काठ चोरी गर्न थालेका हुन् ।

बजारबाट नयाँ साइकल किनेर स्वरुप बदल्ने र रातभर जंगलमा लगेर गोलिया ओसारपसारमा प्रयोग गर्न थालेको वनले फेला पारेको हो । स्वरुप बदलेपछि साइकलमा मानिस चढेर हिड्न मिल्दैन ।

एउटा साइकलको बजार मुल्य ४÷५ हजार रुपैयाँसम्म पर्छ । त्यसलाई स्वरुप बदल्न १ हजार रुपैयाँ जति थप लाग्छ । वनले ४ दिनअघि चन्द्रपुर वडा नम्बर ९ स्थित स्थानीय चिरान मिलबाट साइकल तस्करले बेचेको गोलिया पनि बरामद गरेको थियो । मिलबिरुद्ध वनले अनुसन्धान सुरु गरेको डिभिजन वनका निमित्त प्रमुख अमरदेव यादवले यादबले जानकारी दिए ।

मानिसले सवारीसाधनको रुपमा प्रयोग गर्ने साइकलको स्वरुप बदलेर ठुल्ठुला काठ लोड गरेको देख्दा अचम्म लागेको निमित्त वन प्रमुख यादवले सुनाए । सुरुमा काठ तस्करले टायर गाडा प्रयोग गर्थे । गोरु, पाडाले तान्ने हुनाले वनले धमाधम पक्रन थालेपछि बलेरो जिप, ट्रयाक्टर, इ–रिक्सा, अटो र ट्रक प्रयोग गर्न थाले ।

त्यो पनि पक्राउ पर्न थालेपछि पछिल्लो समय भारतीय चोरीको जिप प्रयोग गरि काठ तस्कर गर्न थालेको पाइएको थियो । चन्द्रनिगाहपुर, बृन्दावनको बलेरी, गुजराको चोचालगायत वनक्षेत्रमा गस्ती टोलीले यस्ता साइकल बरामद गरेको छ ।


 

Back to top