×

अगामी चुनावमा समेत गठबन्धनको निरन्तरता सम्बन्धमा कमरेड माधव नेपालको राजनीतिक दस्तावेज आएको छ ।

परिस्थितिवस वर्तमान सरकारको गठन एउटा संयोग मात्र हो । हिजो केपी र प्रचण्डले सत्ता स्वार्थको लागि गरेको अपरिपक्व तथा अपवित्र गठबन्धनको दुर्दशाको मूल्य आज सिङ्गो राष्ट्रले व्यहोर्नु परेको अवस्था देख्दादेख्दै फेरि चुनाव जित्ने बैसाखीको रुपमा प्रयोग गरिने गठबन्धनको जालमा कांग्रेस पर्नु हुदैन ।

कांग्रेसले विगतमा यो गल्तीबाट पाठ सकेकै हुनुपर्छ । फेरि कांग्रेस कार्यकर्ताका लागि आफ्नो रूख र चार तारा नै प्यारो छ ।

आफ्नो सिद्धान्त, निष्ठा र रूख चिन्हसँग सौदावाजी गर्नु कांग्रेसको लागि महाभुल हुनेछ । कथंकदाचित त्यस्तो गरिएमा आम कार्यकर्ताका लागि पनि स्वीकार्य हुनेछैन ।
त्यस प्रकारको कुनै पनि सिद्धान्तविहीन, अपवित्र गठबन्धनको भविष्य पनि हुदैन र त्यसले राष्ट्रलाई समेत भलो गर्दैन ।

अहिले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि वडा नगर तथा जिल्ला तहको अधिवेशन भइरहेका छन् । तर अझै १३ वटा जिल्लामा यसको कुनै सुरसार हुन सकेको छैन । पटक पटक महाधिवेशनको कार्यतालिका फेरबदल हुनु नेपाली कांग्रेसको इतिहासमा पहिलो घटना हो ।

देशको लोकतान्त्रिक पार्टि भित्र यस प्रकारको कमीकमजोरी हुनुले पार्टिको लोकतान्त्रिक चरित्र र गौरवपूर्ण इतिहासलाई धूमिल बनाउछ । हेक्का रहोस यो अधिवेशन लाई लाखौ लाख लोकतन्त्रवादी शुभचिन्तक समर्थक ले देश विदेश मा बसेर बडो सूक्ष्म ढंगले सुपरिवेक्षण गरिरहेका छन् ।

अहिले कांग्रेसले ध्यान दिन पर्ने भनेको आन्तरिक कलह, विग्रहलाई सम्बोधन गर्ने तर्फ हो । अहिले नै आउँदो स्थानीय र संसदको चुनावमा गठजोड के गर्ने भन्ने बारे पछि बहस गर्दै गरौँला ।

पहिला आन्तरिक रुपमा हामी कसरी बलियो बन्ने भन्ने विषयलाई प्राथमिकतामा राख्न सके हामी एक्लै मैदानमा डटेर लड्न सक्छौँ । कसैको बैसाखीको आवश्यकता नै पर्दैन । तर यसतर्फ भने हामीले ध्यान दिन जरुरी छ ।

Back to top